काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री रादोस्लाव सिकोरस्कीसँग द्विपक्षीय भेटवार्ता गरेका छन्।
संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (UNGA81) को साइडलाइनमा भएको भेटवार्तामा नेपाल–पोल्यान्ड द्विपक्षीय सम्बन्धका विविध पक्षबारे छलफल भएको हो।
भेटका क्रममा दुवै पक्षले नेपाल र पोल्यान्डबीच पछिल्लो समय विकसित हुँदै गएको सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी हितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा जोड दिएका थिए।
त्यस्तै, व्यापार, लगानी, पर्यटन, शिक्षा तथा अन्य पारस्परिक हितका क्षेत्रमा सहकार्यका सम्भावनालाई अघि बढाउनुका साथै संयुक्त राष्ट्रसंघलगायत बहुपक्षीय मञ्चमा दुई देशबीचको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ।
भेटवार्ताले नेपाल–पोल्यान्ड सम्बन्धलाई थप गतिशील बनाउँदै द्विपक्षीय तथा बहुपक्षीय सहकार्यका नयाँ क्षेत्र पहिचान गर्ने दिशामा सकारात्मक आधार तयार गरेको बताइएको छ।





