काठमाडौं। सम्माननीय सभामुख डोलप्रसाद अर्यालसँग जापानको प्रतिनिधि सभा सदस्य माननीय शोजी केनइचीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
भेटमा सभामुख अर्यालले माननीय शोजी केनइचीलाई नेपालमा स्वागत गर्दै गत भदौमा रसुवामा आएको बाढी तथा विपद्का क्रममा जापानले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । जापानले विपद्को सुरुवाती दिनदेखि नै नेपालले भोगेको पीडाप्रति चासो देखाउँदै राहत तथा उद्धारका साथै प्राविधिक सहयोग उपलब्ध गराएकोमा उहाँले प्रशंसा गर्नुभयो ।
सभामुख अर्यालले विपद्को असर लामो समयसम्म रहने भएकाले पुनस्र्थापना तथा पुनर्निर्माणका क्रममा पनि जापानको निरन्तर सहयोग र सहकार्यको अपेक्षा रहेको बताउनुभयो । साथै, सङ्घीय संसद् सचिवालयले जापान लगायत विभिन्न देशका संसद्सँगको सम्बन्धलाई थप सुदृढ बनाउन संसदीय मैत्री समूह गठन गरेको जानकारी पनि उहाँले दिनुभयो ।
भेटमा जापानको प्रतिनिधि सभा सदस्य शोजी केनइचीले नेपालले भोगिरहेको विपद्को पीडामा जापान आफ्नो तर्फबाट सक्दो सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले केही वर्षअघि जापानले पनि यस्तै प्रकृतिका विपद् भोगेको उल्लेख गर्दै विपद्पछिको पुनर्सरचना तथा पुनर्निर्माणका क्रममा जापानले हासिल गरेका अनुभव नेपालसँग साझा गर्न चाहेको बताउनुभयो ।
यस्ता विपद्का कारण विशेषगरी नागरिकमा पर्ने मानसिक पीडा लामो समयसम्म रहन सक्ने उल्लेख गर्दै उहाँले विपद्पछिको पुनस्र्थापना प्रक्रियामा नागरिकको मनोसामाजिक पक्षलाई समेत प्राथमिकता दिन सुझाव दिनुभयो ।





