गाईघाट, उदयपुर । रसुवामा आएको बाढीपहिरोबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि जिल्ला इसाई समाज उदयपुरले रु. ३ लाख ३२ हजार ९ सय ४७ रुपैयाँ ५० पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ।
जिल्लामा रहेका विभिन्न चर्च तथा इसाई समुदायको सहकार्यमा कुल रु. ४ लाख ४३ हजार ९ सय ३० रुपैयाँ संकलन भएको थियो। संकलित रकममध्ये उक्त रकम गाईघाटस्थित राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।

जिल्ला इसाई समाज उदयपुरका अध्यक्ष पाष्टर सन्तोष गजमेरका अनुसार संकलित रकममध्ये २५ प्रतिशत रकम भोटेकोशी बाढीबाट प्रभावित उदयपुर जिल्लाका नागरिकहरूलाई आवश्यक राहत तथा सहयोग उपलब्ध गराउन छुट्याइएको छ।
अध्यक्ष गजमेरले विपद्को समयमा पीडित नागरिकहरूको दुःखमा साथ दिनु मानवीय जिम्मेवारी भएको बताउँदै सहयोग अभियानमा सहभागी सबै चर्च, पाष्टर, अगुवा तथा विश्वासीहरूप्रति धन्यवाद व्यक्त गरे।

उनले संकटमा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले समाजले आगामी दिनमा पनि आवश्यकताअनुसार सामाजिक तथा मानवीय सेवाका कार्यलाई निरन्तरता दिने बताए।
उदयपुरका विभिन्न चर्च तथा इसाई समुदायको यो पहलले विपद्को समयमा धार्मिक समुदायको सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रतिको प्रतिबद्धतालाई समेत उजागर गरेको छ।









