भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२, सानोठिमीस्थित आदर्श माध्यमिक विद्यालय अगाडि मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।
बिहीबार साँझ करिब ६ः३० बजे तीव्र गतिमा आएको मोटरसाइकलले सडक पार गर्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त थिमिले जनाएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ का अरुण कटवाल रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा मोटरसाइकल तीव्र गतिमा रहेको हुनसक्ने प्रहरीको अनुमान छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। घटनाको विस्तृत विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।










