पर्सा । प्रहरीले भन्सार छलेर चोरीपैठारी गरी ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गस्तीमा खटिएको प्रहरी टोलीले भन्सार छली गरी ल्याइएका स्कुटरहरू नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार नियमित गस्तीका क्रममा ती विद्युतीय स्कुटर फेला परेका थिए । आवश्यक कागजात तथा भन्सार प्रक्रिया पूरा नगरी ल्याइएको आशंकामा प्रहरीले स्कुटरहरू नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीका अनुसार बरामद गरिएका १० वटा विद्युतीय स्कुटरको कुल बजारमूल्य करिब ८० लाख रुपैयाँ रहेको छ । नियन्त्रणमा लिइएका स्कुटरहरूबारे थप आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
बरामद गरिएका सबै विद्युतीय स्कुटरलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ । भन्सार कार्यालयले प्रचलित कानुनअनुसार स्कुटरको थप जाँच तथा कारबाही प्रक्रिया अघि बढाउने जनाइएको छ ।










