युएई । भिजिट भिसा तथा व्यक्तिगत रोजगार भिसाका नाममा नेपाली नागरिक ठगीमा पर्ने क्रम बढेपछि नेपाली महावाणिज्यदूतावास, दुबईले सचेत रहन आग्रह गरेको छ।
महावाणिज्यदूतावासका अनुसार नेपालमै दलाललाई लाखौँ रुपैयाँ बुझाएर भिजिट भिसामा युएई आउने तथा व्यक्तिगत श्रम भिसामार्फत युएई प्रवेश गरेपछि सम्बन्धित कम्पनीसँग सम्पर्क हुन नसक्दा वा कम्पनीले बेवास्ता गर्दा नेपालीहरू अलपत्र पर्ने गरेका छन्।

त्यस्तै, भिजिट भिसामा युएई आएर रोजगारी खोज्ने क्रममा पुनः दलालको सम्पर्कमा परी ठगी तथा विभिन्न कानुनी झमेलामा पर्ने नेपालीका गुनासोसमेत दूतावासमा उल्लेख्य रूपमा आउने गरेको जनाइएको छ।
दूतावासले रोजगारीका लागि भिजिट भिसाको प्रयोग नगरी संस्थागत रोजगार भिसामार्फत सुरक्षित तथा वैधानिक प्रक्रिया अपनाउन आग्रह गरेको छ। साथै, भरपर्दो रोजगारदाता कम्पनीबारे यकिन नगरी व्यक्तिगत रोजगार भिसामा युएई नआउनसमेत अनुरोध गरेको छ।

दूतावासले दलालको प्रलोभनमा परी ठूलो रकम नबुझाउन र रोजगारीका लागि सुरक्षित तथा वैधानिक माध्यम मात्र रोज्न नेपाली नागरिकलाई आग्रह गरेको छ। साथै, विदेश जानुअघि रोजगारदाता, भिसाको प्रकृति तथा रोजगारीसम्बन्धी सम्पूर्ण विवरण यकिन गरेर मात्र प्रक्रिया अघि बढाउन सुझाव दिएको छ।









