कृष्ण कुँवर, अबुधाबी । इटालीको चर्चित फुटबल क्लब ए.एस. रोमाले नेपालका बाढी तथा पहिरो प्रभावितका लागि ऐक्यबद्धता जनाउँदै च्याम्पियन्स लिगको पहिलो खेलमा विशेष पहल गरेको छ।
१० सेप्टेम्बरमा टर्कीको फेनरबाह्चेविरुद्ध इस्तानबुलमा भएको खेलमा रोमाका खेलाडीहरू विश्व खाद्य कार्यक्रम (डब्लु.एफ.पी.) को लोगो तथा नेपालको नाम र झन्डासहितको विशेष जर्सी लगाएर मैदानमा उत्रिएका थिए।

नेपालमा बाढी तथा पहिरोका कारण उत्पन्न मानवीय संकट र डब्लु.एफ.पी. को राहत प्रयासबारे अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराउने उद्देश्यले उक्त विशेष जर्सी प्रयोग गरिएको रोमाले जनाएको छ।
इटालीको राजधानी रोमामा रहेको ए.एस. रोमा सिरी ‘ए’ मा खेल्ने इटालीको प्रतिष्ठित फुटबल क्लबमध्ये एक हो। क्लबले लामो समयदेखि इटालियन तथा युरोपेली फुटबलमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएको छ।

रोमाले उक्त खेलमा खेलाडीहरूले लगाएका विशेष जर्सीहरू लिलामीमा राख्ने र त्यसबाट प्राप्त रकम डब्लु.एफ.पी. मार्फत नेपालका बाढी–पहिरो प्रभावितको सहयोगमा प्रयोग गर्ने जनाएको छ। डब्लु.एफ.पी. का अनुसार नेपालमा करिब ४३ हजार मानिसलाई तत्काल मानवीय सहयोग आवश्यक छ।
च्याम्पियन्स लिगको उक्त खेलमा फेनरबाह्चे र ए.एस. रोमा १–१ गोलको बराबरीमा रोकिएका थिए।
विश्व फुटबलको ठूलो मञ्चमा नेपालको नाम र झन्डासहित उत्रिएर ए.एस. रोमाले देखाएको यो ऐक्यबद्धता नेपालका बाढी–पहिरो प्रभावितप्रति अन्तर्राष्ट्रिय सद्भावको एउटा महत्वपूर्ण उदाहरण बनेको छ।









