नुवाकोट । भदौ १० गते भोटेकोसी नदीमा आएको आकस्मिक बाढीका कारण भोटेकोसी र त्रिशूली नदी आसपासका बस्तीमा ठूलो जनधनको क्षति भएपछि नुवाकोटमा बाढीपीडितको सेवामा खटिएको करुणा केयर आजदेखि काठमाडौं फर्किने भएको छ। संस्थाले १३ दिनसम्म प्रभावित परिवारका लागि भोजन, राहत तथा आवश्यक सामग्री व्यवस्थापनमा सहयोग गरेको हो।
करुणा केयरका अध्यक्ष धनराज घिमिरेका अनुसार संस्थाले नुवाकोटको बट्टार कबड हल र तामाङ प्लाजामा रहेका दुई अस्थायी होल्डिङ सेन्टरबाट बाढीपीडितलाई नियमित भोजनको व्यवस्था गर्दै आएको थियो। ती दुई सेल्टरमा क्रमशः २३३ जना र १२८ जना बाढी प्रभावित आश्रय लिइरहेका थिए।

संस्थाले भोजन व्यवस्थासँगै बाढीपीडितलाई आवश्यक अन्य सामग्रीसमेत उपलब्ध गराएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो। विपद्को कठिन अवस्थामा प्रभावित परिवारलाई तत्काल आवश्यक खाद्यान्न तथा आधारभूत सामग्री उपलब्ध गराउँदै संस्थाका स्वयंसेवकहरूले निरन्तर सेवा प्रदान गरेका थिए।
सामाजिक सेवामा सक्रिय करुणा केयरमार्फत विभिन्न चर्चमा आबद्ध करिब ३० जना युवा स्वयंसेवकका रूपमा राहत तथा भोजन व्यवस्थापनमा खटिएका थिए। उनीहरूले सेल्टरमा रहेका बालबालिका, महिला, ज्येष्ठ नागरिकलगायत बाढी प्रभावित परिवारलाई आवश्यक सहयोग पुर्याएका थिए।

१३ दिनसम्म सेवा सञ्चालन गरेपछि आजदेखि दुवै होल्डिङ सेन्टर स्थानीय सरकारको जिम्मामा हस्तान्तरण गरिने भएको छ। स्थानीय तहले अब सेल्टरमा रहेका प्रभावित परिवारको व्यवस्थापन, भोजन तथा अन्य आवश्यक सेवाको जिम्मेवारी लिने भएपछि करुणा केयरको टोली काठमाडौं फर्किन लागेको अध्यक्ष घिमिरेले बताउनुभयो।
अध्यक्ष घिमिरेले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्न पाउनु संस्थाका लागि महत्वपूर्ण अवसर भएको बताउँदै आगामी दिनमा पनि आवश्यकताअनुसार सहयोगका लागि तयार रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले बाढीपीडितको पुनःस्थापना र सुरक्षित बसोबासका लागि दीर्घकालीन पहल आवश्यक रहेकोमा जोड दिनुभयो।
पछिल्लो समय धादिङ, नुवाकोट र रसुवा जिल्लाका बाढी प्रभावितका लागि विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले राहत, भोजन तथा आवश्यक सामग्री उपलब्ध गराउँदै आएका छन्। भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा उद्धार, राहत, अस्थायी बसोबास र पुनःस्थापनाको काम अझै चुनौतीपूर्ण रहेको छ।









