
धेरै भयो नबोलेको बोल्छु बोल्न दिनु है ,
पिरको पोको बोकेकी छु खोल्न दिनु है !

दिन बिग्रिन थालेपछि आफ्नै भए पराए
कति रहर पूरा भए कति हराए !!
भा’छ आज जिन्दगी बिपनिकी सपनी ,
विदेश हिँड्नै पर्ने मान्छे होइन म पनि !
बाआमाले बिहे गर्दिए हुने खाने देखेर
भोग्नै पर्ने रहेछ भाग्य आ’को लेखेर !!
छोराछोरी भइसकेथे ठिकै थियो जिन्दगी ,
तर आज प्रदेशमा भयो बन्दगी !
घटना त मैले पनि देखेकीथेँ कतिको
आनीबानी बदलिन थाल्यो पतिको !!
रक्सी पिउने, राति आउने छोराछोरी तर्साउने,
यस्ती उस्ती भन्ने मलाई लाती बर्साउने !
बाहिर बाहिरै चक्कर रैछ त्यही केटीलाई लिएर,
हिँडे लोग्ने हामीलाई नै धोका दिएर !!
लालनपालन छोराछोरी सबै कुरा जुटाउन ,
अनि एक्लै जिम्मेवारी पर्यो उठाउन!
मेरै गल्ती देख्न थाले इष्टमित्र साराले,
गरी खाने दिएनन् नि आफ्नै पाराले !!
बाबाआमा भइन्जेल पो माइतीको नि भर हुनी,
भाउजु बुहारी आएपछि बोल्नै डर हुनी !
छोराछोरी पाल्नै पर्यो, पर्यो तिनलाई पढाउन ,
जस्तै दुःख आइपरेनी अघि बढाउन !!
सानासाना लालाबाला अरूको भर छोडेर,
हिँड्दा कस्तो भयो होला बाटो मोडेर !
हामी भित्र कस्तो घाउ छ कसैले नि जान्दैनन् ,
विदेश आउने नारीलाई राम्रो मान्दैनन्।
कस्तो खली काटेँ मैले छैन भनी साध्य त ,
विदेश आउनु रहर होइन थियो बाध्यता !
आफ्ना आफ्नै पीडा होलान् अरु दिदीबहिनीका,
पीडा पोख्न पाउँदा अलि हल्का भैनी क्या !!
श्रीराम रानाभाट –हाल -दुबई !









