काठमाडौ । ललितपुरको कुसुन्तीस्थित आफ्नै निवासबाट पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका छन्। श्रेष्ठलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको प्रहरी उच्च स्रोतले जनाइएको छ। उनको पक्राउका लागि उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालित भएको थियाे।
प्रहरीका अनुसार श्रेष्ठलाई वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको हो। उक्त आरोपमा अनुसन्धान अघि बढाउन उनलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

श्रेष्ठ जनआस्था साप्ताहिकका सम्पादक हुनुका साथै प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्षसमेत हुन्। लामो समयदेखि पत्रकारितामा सक्रिय श्रेष्ठले सम्पादन गर्दै आएको जनआस्थाले पछिल्ला दिनमा विभिन्न व्यक्तिका विषयमा समाचार तथा सामग्री प्रकाशित गर्दै आएको थियो। पछिल्लो समय प्रकाशित केही समाचारलाई लिएर विवादसमेत उत्पन्न भएको थियो।
यसै क्रममा उपसभामुख रुबि कुमारी ठाकुरको विषयमा समेत एक व्यक्तिको नाम जोडेर जनआस्थामा समाचार प्रकाशित भएपछि त्यसबारे चर्चा भएको थियो। यद्यपि, श्रेष्ठको पक्राउ उक्त समाचारकै कारण भएको हो वा अन्य कुनै विषयसँग सम्बन्धित छ भन्नेबारे प्रहरीले स्पष्ट पारेको छैन।

श्रेष्ठ पक्राउ परेको विषयमा अनुसन्धान अघि बढिरहेको प्रहरीले जनाएको छ। वैयक्तिक गोपनीयतासम्बन्धी ऐनअन्तर्गतको आरोप, पक्राउको आधार तथा घटनाको विस्तृत विवरण अनुसन्धानपछि थप स्पष्ट हुने अपेक्षा गरिएको छ। प्रहरीले अनुसन्धानका क्रममा प्राप्त तथ्यका आधारमा आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।









