भक्तपुर । प्रतिनिधिसभा सदस्य डा. गंगालक्ष्मी अवाल र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिबीच ख्वप विश्वविद्यालय स्थापना तथा भक्तपुर नगरको समग्र विकासका विविध विषयमा महत्वपूर्ण छलफल सम्पन्न भएको छ।
भेटका क्रममा ख्वप विश्वविद्यालय स्थापना प्रक्रियालाई अघि बढाउने विषयसँगै शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा जनसरोकारसँग सम्बन्धित विभिन्न मुद्दामा विस्तृत रूपमा विचार–विमर्श भएको जनाइएको छ। दुवै पक्षले भक्तपुरको दीर्घकालीन हितलाई केन्द्रमा राखेर विकासका प्राथमिकताबारे धारणा आदानप्रदान गरेका थिए।

छलफलमा भक्तपुरलाई शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधारको दृष्टिले थप सुदृढ र व्यवस्थित बनाउने विषयमा संघीय र स्थानीय तहबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो। विकासका योजनालाई समयमै कार्यान्वयन गर्न समन्वयात्मक ढंगले अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
यसैगरी, भक्तपुरको समृद्धि र दिगो विकासका लागि संघीय तथा स्थानीय सरकारबीच साझेदारी, समन्वय र साझा प्रतिबद्धतालाई अझ प्रभावकारी बनाउँदै अगाडि बढ्ने विषयमा दुवै पक्ष सकारात्मक रहेको बताइएको छ।



















