धनुषा। धनुषाको मिथिला नगरपालिका क्षेत्रमा लागुऔषध नियन्त्रण ब्यूरो, बर्दिबासबाट खटिएको प्रहरी टोलीले दुई राउण्ड हवाई फायर गरी दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। उनीहरूलाई लागुऔषध सम्बन्धी गतिविधिमा संलग्न रहेको आशंकामा नियन्त्रणमा लिइएको जनाइएको छ।
प्रहरी स्रोतका अनुसार संदिग्ध व्यक्तिहरूलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले भाग्ने प्रयास गरेपछि अवस्था नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर गरिएको थियो। त्यसपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिन सफल भएको बताइएको छ।

घटनास्थलबाट बरामद भएका लागुऔषध तथा अन्य सामग्रीबारे प्रहरीले विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन। पक्राउ परेका दुवै भारतीय नागरिकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे विस्तृत विवरण तथा पक्राउ परेका व्यक्तिको परिचय सार्वजनिक गर्ने तयारी भइरहेको जनाइएको छ। प्रहरीले सीमावर्ती क्षेत्रमा लागुऔषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउँदै यस्ता गतिविधिविरुद्ध कडाइका साथ कारबाही जारी राख्ने जनाएको छ।



















