काठमाडौं । प्रो पब्लिक संस्थाले आयोजना गरेको ‘खाद्य सार्वभौमिकता तथा खाद्य सुरक्षासम्बन्धी राष्ट्रिय साझा कार्यक्रम’ मा प्रतिनिधिसभा सदस्य माननीय राधिका रम्तेल सहभागी हुँदै खाद्य सुरक्षा सुदृढीकरणका लागि अध्ययन, अनुसन्धान र नीतिगत सुधारलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी छन्।
कार्यक्रममा मन्तव्य राख्दै सांसद रम्तेलले कर्णाली प्रदेशको खाद्य सुरक्षाको अवस्थाबारे गरिएको अध्ययन महत्त्वपूर्ण रहेको बताइन्। विशेषगरी सुर्खेतको चौकुने गाउँपालिकालाई केन्द्रमा राखेर गरिएको अनुसन्धानले स्थानीय स्तरका चुनौती र सम्भावनालाई उजागर गरेको भन्दै उनले यस्तो अध्ययन नीति निर्माणका लागि उपयोगी हुने धारणा व्यक्त गरिन्।

उनले खाद्य सार्वभौमिकता सुनिश्चित गर्न स्थानीय उत्पादन, कृषि प्रणालीको सुदृढीकरण तथा समुदायको सहभागितालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याइन्। साथै, अनुसन्धानका निष्कर्षलाई व्यवहारमा लागू गर्दै दीर्घकालीन खाद्य सुरक्षा सुनिश्चित गर्न सबै सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताइन्।
सांसद रम्तेलले चौकुने गाउँपालिकाबाट सुरु गरिएको अध्ययनलाई आगामी दिनमा निरन्तरता दिँदै कर्णालीका अन्य स्थानीय तहमा समेत विस्तार गरिने विश्वास व्यक्त गरिन्। यस्ता अनुसन्धानले खाद्य सुरक्षा सम्बन्धी नीति निर्माण, योजना तर्जुमा र प्रभावकारी कार्यान्वयनमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो।



















