काठमाडौं । सुप्रसिद्ध गायिका सत्यकला राईले धर्मको नाममा विश्वभर बढ्दो विवाद, द्वन्द्व, घृणा र विभाजनप्रति चिन्ता व्यक्त गर्दै सबै धर्मको मूल उद्देश्य मानवता, प्रेम र शान्ति नै रहेको बताएकी छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राईले मानिस फरक–फरक संस्कार, संस्कृति, परम्परा र धार्मिक विश्वासमा जन्मिए पनि सबैले अन्ततः शान्ति, सुख र दुःखबाट मुक्ति नै खोजिरहेको उल्लेख गरेकी छन्। भगवान्, परमेश्वर, प्रभु, अल्लाह, सुम्निमा–पारुहाङ वा अन्य जुनसुकै नामबाट आस्था व्यक्त गरिए पनि विश्वासको आधार मानव कल्याणसँग जोडिएको उनको भनाइ छ।

उनले “किन मेरो धर्म ठूलो र तिम्रो धर्म सानो? किन मेरो भगवान् सही र तिम्रो भगवान् गलत?” भन्ने प्रश्न उठाउँदै आफ्नो आस्था बचाउने नाममा अर्काको अस्तित्वमाथि प्रहार गर्नु कुनै पनि धर्मको वास्तविक शिक्षा नभएको बताएकी छन्। धर्मले विभाजन होइन, सहिष्णुता, सम्मान र सहअस्तित्वको संस्कार विकास गर्नुपर्नेमा उनले जोड दिएकी छन्।
राईका अनुसार धर्मले मानिसलाई नम्र, सत्यनिष्ठ, प्रेमपूर्ण र करुणामय बनाउनुपर्ने हो। तर पछिल्लो समय धर्मकै नाममा एकअर्कालाई होच्याउने, घृणा फैलाउने र समाजलाई विभाजित गर्ने प्रवृत्ति बढ्दै जानु चिन्ताको विषय भएको उनले उल्लेख गरेकी छन्।

उनको अभिव्यक्तिले धार्मिक सहिष्णुता, पारस्परिक सम्मान र मानवतालाई केन्द्रमा राखेर समाज निर्माण गर्नुपर्ने सन्देश दिएको छ। विभिन्न धर्म र आस्थाबीच आपसी सद्भाव कायम गर्दै शान्तिपूर्ण समाज निर्माणमा सबैको साझा जिम्मेवारी रहेको उनको भनाइ छ।


















