काठमाडौं । देशभर हाल मनसुनी वायुको प्रभाव कायम रहेको छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमै रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। मधेश प्रदेश तथा कोशी प्रदेशको तराई क्षेत्रमा भने आंशिक बदली रहेको छ।

आज दिनभर देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। त्यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेश र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन–चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति पनि देशका पहाडी भूभागका केही स्थान तथा तराईका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाले भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय तथा डुबानजस्ता विपद्को जोखिम बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्र, पहिरोको जोखिम भएका बस्ती तथा यात्रा गर्ने सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले विभागबाट जारी हुने पछिल्ला मौसम बुलेटिन नियमित रूपमा पालना गर्न अनुरोध गरिएको छ।


















