काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री माननीय सिता बादी र प्रतिनिधिसभाकी उपसभामुख माननीय रुबी कुमारीबीच दाइजो प्रथा अन्त्यका लागि आवश्यक नीतिगत तथा व्यवहारिक उपायबारे मन्त्रालयमा छलफल भएको छ।
छलफलका क्रममा दाइजो प्रथालाई पूर्ण रूपमा अन्त्य गर्न विद्यमान कानुनको प्रभावकारी कार्यान्वयन, समाजमा व्यापक जनचेतना अभिवृद्धि तथा संघ, प्रदेश र स्थानीय तहबीच समन्वयलाई थप सुदृढ बनाउने विषयमा विशेष जोड दिइएको मन्त्रालयले जनाएको छ।

मन्त्री सिता बादीले दाइजो प्रथा महिला हिंसाको एक प्रमुख कारण भएकाले यसको अन्त्यका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै कानुनी व्यवस्था कार्यान्वयनसँगै सामाजिक सोचमा परिवर्तन ल्याउन सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
उपसभामुख रुबी कुमारीले पनि दाइजो प्रथाविरुद्ध राज्यका सबै निकाय, जनप्रतिनिधि, नागरिक समाज तथा समुदायको साझा प्रयास आवश्यक रहेको बताउँदै महिला तथा बालिकाको सम्मान, सुरक्षा र समान अधिकार सुनिश्चित गर्न प्रभावकारी अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।

छलफलमा दाइजोमुक्त समाज निर्माणका लागि तीनै तहका सरकारबीच समन्वयात्मक पहललाई अझ प्रभावकारी बनाउने सहमति भएको जनाइएको छ।


















