काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको सुधार, सेवा विस्तार तथा नीतिगत व्यवस्थापनका विषयमा उच्चस्तरीय छलफल सम्पन्न भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा भएको छलफलमा आयुर्वेद सेवालाई थप प्रभावकारी, गुणस्तरीय र नागरिकमैत्री बनाउने विषयमा विशेष जोड दिइएको छ।
छलफलका क्रममा आयुर्वेद सेवालाई राष्ट्रिय स्वास्थ्य प्रणालीसँग प्रभावकारी रूपमा एकीकृत गर्दै नागरिकलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने, अनुसन्धान तथा जनशक्ति विकासलाई प्राथमिकता दिने र संस्थागत क्षमता अभिवृद्धि गर्ने विषयमा विस्तृत छलफल भएको थियो। साथै, आयुर्वेद सेवाको दीर्घकालीन विकासका लागि आवश्यक नीतिगत सुधार अघि बढाइने प्रतिबद्धता व्यक्त गरिएको छ।

त्यसैगरी नेपालको जडीबुटी, प्राकृतिक स्रोत र परम्परागत चिकित्सा पद्धतिको संरक्षण तथा प्रवर्द्धन गर्दै देशलाई आयुर्वेदिक स्वास्थ्य पर्यटनको आकर्षक गन्तव्य का रूपमा विकास गर्ने लक्ष्यमा मन्त्रालयले विशेष जोड दिएको छ। यसका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसारलाई समेत प्राथमिकतामा राखिने जनाइएको छ।
छलफलको निष्कर्षस्वरूप आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको गुणस्तर अभिवृद्धि, सेवा विस्तार, संस्थागत सुदृढीकरण तथा दीर्घकालीन विकासका लागि आवश्यक नीतिगत पहललाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको मन्त्रालयले जनाएको छ।



















