काठमाडौं । काठमाडौं – १० बाट प्रत्येक्ष निर्वाचित संघीय सांसद् तथा प्रतिनिधिसभा पूर्वाधार विकास समिति सदस्य प्रदीप विष्टले बुधबार बिहान राष्ट्रिय गौरवको आयोजना नागढुङ्गा सुरुङमार्गको स्थलगत अवलोकन गरेका छन्। अवलोकनका क्रममा उहाँले आयोजनाको निर्माण प्रगति, पूर्वाधारको अवस्था तथा स्थानीय क्षेत्रमा परेको प्रभावबारे जानकारी लिएका थिए।
अवलोकनका क्रममा सुरुङमार्ग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले सांसद् विष्टसमक्ष विभिन्न समस्या र मागहरू राख्दै आवश्यक पहल गरिदिन आग्रह गरेका छन्। उनीहरूले आयोजना निर्माणका क्रममा आफूहरूले भोग्नुपरेका कठिनाइ र क्षतिका विषयमा ध्यानाकर्षण गराएका हुन्।

स्थानीयले विशेषगरी आयोजना निर्माणका कारण क्षति पुगेका घर, संरचना तथा जग्गाको उचित मुआब्जा र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरेका छन्। साथै, प्रभावित बस्तीमा खानेपानी व्यवस्थापनको समस्या समाधान गर्न र आयोजनाबाट सिर्जना हुने रोजगारीमा स्थानीयलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याएका छन्।
त्यसैगरी, सुरुङमार्गसँग जोडिने पहुँच मार्गलाई स्थानीय सडकसँग प्रभावकारी रूपमा ‘लिंक एक्सेस’ गराई आवतजावत सहज बनाउनुपर्ने मागसमेत स्थानीयले सांसद् विष्टसमक्ष राखेका थिए। उनीहरूले आयोजना सम्पन्न भएपछि स्थानीयको दैनिक जीवनमा सहजता आउने गरी आवश्यक पूर्वाधार विकास गर्न आग्रह गरेका छन्।

स्थानीयका गुनासा र सुझाव सुनेपछि सांसद् विष्टले आयोजना सँग सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्रिय गौरवको आयोजना भएकाले निर्माण कार्य समयमै सम्पन्न हुनुका साथै स्थानीयको हित र अधिकारसमेत सुनिश्चित हुने गरी काम अघि बढाउन आफूले सम्बन्धित पक्षसँग निरन्तर समन्वय गर्ने उहाँले बताएका छन्।


















