काठमाडौं । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको मौलिक कला, संस्कृति र पहिचानसँग जोडिएको हस्तकला क्षेत्रको विकास, विस्तार तथा संरक्षणका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा नेपाल हस्तकला व्यवसायी महासंघका प्रतिनिधिमण्डलसँग भएको छलफलमा प्रधानमन्त्री शाहले हस्तकला उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा विकास गर्न आवश्यक नीति, कार्यक्रम तथा कानुनी व्यवस्था निर्माण गरिने बताउनुभयो। उहाँले हस्तकला क्षेत्रमार्फत रोजगारी सिर्जना, परम्परागत सीपको पुस्तान्तरण तथा नेपाली कला–संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सरकारले विशेष प्राथमिकता दिने स्पष्ट पार्नुभयो।

छलफलका क्रममा महासंघले सार्वजनिक–निजी साझेदारी (PPP) मोडलमा हस्तकला विकास बोर्ड गठन, राष्ट्रिय हस्तकला दिवस घोषणा गरी देशव्यापी रूपमा मनाउने, हस्तकला सामग्री निर्यातमा बिजक मूल्यांकन अनिवार्य गर्ने, काठमाडौँ उपत्यकामा हस्तकला ग्राम स्थापना गर्ने तथा सातै प्रदेशमा सीप विकास तथा प्रशिक्षण केन्द्र सञ्चालन गर्नुपर्ने लगायतका मागहरू प्रस्तुत गरेको थियो।
महासंघका मागप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै प्रधानमन्त्री शाहले हस्तकला क्षेत्रको दीर्घकालीन विकासका लागि सरकार आवश्यक पहल गर्न तयार रहेको बताउनुभयो। उहाँले हस्तकला व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न, निर्यात प्रवर्द्धन गर्न तथा नयाँ पुस्तालाई परम्परागत सीपसँग जोड्ने कार्यक्रम अघि बढाइने जानकारी दिनुभयो।

प्रधानमन्त्री शाहले सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै हस्तकला क्षेत्रलाई नेपालको आर्थिक समृद्धि, पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक पहिचान सुदृढ गर्ने महत्वपूर्ण आधारका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।


















