नेकपा एमाका नेता छविलाल विश्वकर्माले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्ने बताएका छन् । विश्वकर्माले मन्त्री श्रेष्ठले शक्तिको प्रयोग गरेर कानुनी प्रक्रियालाई प्रभाव पारेकोसमेत बताए।
जातका कारण सञ्चारकर्मी रूपा सुनारलाई आफ्नो घरमा कोठा भाडा नदिएको आरोपमा पक्राउ परेकी बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई रिहा गर्न बुधबार शिक्षा मन्त्री श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेपछि आलोचनाको सिकार बनेका हुन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीले गरेको अनुसन्धान अपूरो भएको भन्दै थप अनुसन्धान गर्न भनेपछि प्रहरीले उनलाई रिहा गरेको थियो। विश्वकर्माले मन्त्री श्रेष्ठले गरेको काम क्षम्य विषयसमेत नरहेको बताए।
‘जे भयो, त्यो गलत भयो ज्यादै बेठिक भयो, गलत भयो त्यो क्षम्य हुनसक्ने विषय होइन। संविधान र कानुनको कार्यान्वयन गर्ने सरकारले हो। अब संविधान, कानुनले के भन्छ, त्यो अनुसन्धानको विषय हो,’ उनले भने,’त्यसमा भन्नुपर्ने केही कुरै रहेन। तर जिम्मेवारीमा रहेको मन्त्रीले संविधान, कानुनलाई प्रभावित पार्न खोजेको प्रष्टै देखियो।’
sajanepal.com










