काठमाडौं । नेपाल राष्ट्र बैंक, लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रयमासमा छ वटा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्था तथा तिनका सञ्चालक, पदाधिकारी र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको छ।
राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार कारबाहीमा पर्ने संस्थाहरूमा फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेड, धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेड, मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड, एनआईसी लघुवित्त वित्तीय संस्था लिमिटेड, वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र सञ्जीवनी लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन्।
राष्ट्र बैंकका अनुसार फरवार्ड लघुवित्तले २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ६ दशमलव १२ प्रतिशत मात्र कायम गरेको थियो। नियामकीय मापदण्डअनुसार आवश्यक पुँजीकोष कायम नगरेको भन्दै उक्त संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३(क) बमोजिम शीघ्र सुधारात्मक कारबाही गरिएको हो।
त्यस्तै, धौलागिरि लघुवित्तले सोही अवधिमा न्यूनतम पुँजीकोष अनुपात ६ दशमलव ३८ प्रतिशत मात्र कायम गरेको पाइएपछि विनियम ३(क) बमोजिम शीघ्र सुधारात्मक कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ।
मातृभूमि लघुवित्तको न्यूनतम पुँजीकोष अनुपात भने ४ दशमलव ०८ प्रतिशत मात्र रहेको थियो। नियामकीय मापदण्ड पूरा नगरेको भन्दै उक्त संस्थालाई विनियम ३(ख) बमोजिम शीघ्र सुधारात्मक कारबाही गरिएको छ। एनआईसी लघुवित्तले पनि २०८२ असार मसान्तमा ६ दशमलव ३९ प्रतिशत मात्र न्यूनतम पुँजीकोष अनुपात कायम गरेको पाइएपछि विनियम ३(क) बमोजिम कारबाहीमा परेको राष्ट्र बैंकले जनाएको छ।
यसैगरी, वीन नेपाल लघुवित्तले २०८२ चैत महिनामा अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै पहिलो पटकका लागि ५८ रुपैयाँ ३८ पैसा नगद जरिवाना गरिएको छ।
सञ्जीवनी लघुवित्तलाई भने २०८२ चैत तथा २०८३ वैशाख, जेठ र असार महिनामा अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै क्रमशः ७१३ रुपैयाँ ८८ पैसा, १ हजार ६७ रुपैयाँ ४० पैसा, १ हजार ४१२ रुपैयाँ ९१ पैसा र १ हजार ४१० रुपैयाँ ७८ पैसा नगद जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ।





