पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङ जिल्ला समितिको सभापतिमा अशोक सापकोटा सर्वसम्मत रूपमा चयन भएका छन्। प्रारम्भिक निर्वाचनमा पाँच जना उम्मेदवारबीच प्रतिस्पर्धा भए पनि कसैले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि दोस्रो चरणको मतदानको तयारी गरिएको थियो। तर, दोस्रो स्थानमा रहेका उम्मेदवार भोलानाथ शर्माले सापकोटालाई समर्थन गरेपछि सर्वसम्मत नेतृत्व चयन भएको हो।
निर्वाचन परिणामअनुसार सापकोटाले सर्वाधिक ६९ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिस्पर्धी शर्माले ४९ मत पाएका थिए। यस्तै, हरिबहादुर धितालले ३३, विजय रञ्जन पौडेलले १६ तथा नवराज पहाडीले ७ मत प्राप्त गरेका थिए।

रास्वपाको विधानअनुसार कुनै उम्मेदवारले कुल मतको बहुमत प्राप्त नगरेमा सर्वाधिक मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणको निर्वाचन हुनुपर्ने व्यवस्था छ। सोहीअनुसार सापकोटा र शर्मा दोस्रो चरणमा जाने निश्चित भए पनि शर्माले पार्टीको एकता र संगठन सुदृढीकरणलाई प्राथमिकता दिँदै सापकोटालाई समर्थन गर्ने घोषणा गरेका थिए। त्यसपछि सापकोटा सर्वसम्मत रूपमा सभापतिमा चयन भएका हुन्।
जिल्ला अधिवेशनबाट उपसभापतिमा सन्तोषी गौली निर्वाचित भएकी छन्। उनले ८६ मत प्राप्त गर्दै विजय हासिल गर्दा उनका निकटतम प्रतिस्पर्धी प्रकाश थापाले ६९ मत र बाबुराम अधिकारीले १९ मत प्राप्त गरेका थिए।
यसैगरी, सचिव पदमा मिना खड्का भारी मतान्तरसहित निर्वाचित भएकी छन्। खड्काले १ सय १९ मत प्राप्त गर्दा ज्ञानेन्द्र शर्माले २८ मत र मिलन शर्मा दनाईले २५ मत पाएका थिए।
सहसचिव पदमा भने प्रतिस्पर्धा निकै रोचक बनेको थियो। गोविन्दबहादुर घले ६६ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एकनारायण श्रेष्ठले ६२ मत प्राप्त गरे। अर्का उम्मेदवार महेन्द्रबहादुर थापाले ४० मत पाए।
त्यसैगरी, जिल्ला सदस्य पदमा सविता अधिकारी बराल, सुरेन्द्रलाल श्रेष्ठ, सिंहबहादुर घले र श्याम गुरुङ निर्वाचित भएका छन्।
नवनिर्वाचित सभापति सापकोटाले अधिवेशनपछि प्रतिक्रिया दिँदै पार्टीलाई लमजुङमा थप सशक्त र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले अधिवेशनलाई सफल बनाउन योगदान गर्ने सम्पूर्ण प्रतिनिधि, कार्यकर्ता तथा प्रतिस्पर्धी उम्मेदवारप्रति आभार व्यक्त गर्दै सबैलाई समेटेर अघि बढ्ने बताए।
रास्वपाले देशभर संगठन विस्तार र पुनर्गठन अभियानलाई तीव्रता दिइरहेका बेला लमजुङ अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो। पार्टीभित्र लोकतान्त्रिक अभ्यास र सहमतिमूलक नेतृत्व चयनको उदाहरणका रूपमा यस अधिवेशनलाई हेरिएको छ।










