काठमाडौं । मनोहरा नदी किनारमा बसोबास गर्दै आएका करिब ८० प्रतिशत परिवारले आफ्नै पहलमा बस्ती छाडिसकेका छन्। बस्ती खाली गर्ने प्रक्रिया तीव्र बन्दै जाँदा अधिकांश घरधनी तथा भाडावालहरूले सामानसहित सुरक्षित स्थानतर्फ सरेका हुन्।
स्थानीयका अनुसार अहिले बाँकी रहेका परिवारहरू पनि धमाधम सामान ओसार्ने काममा जुटिरहेका छन्। बस्तीमा बसोबास गर्नेहरूमा अनिश्चितता बढेसँगै स्वेच्छाले स्थानान्तरण हुने क्रम तीव्र भएको हो। केही परिवारले वैकल्पिक बसोबासको व्यवस्था गरिसकेको जनाइएको छ भने केही अझै व्यवस्थापनको खोजीमा छन्।

उक्त क्षेत्रमा रहेका करिब ७७७ घरटहरामा झन्डै १ हजार ६ सयभन्दा बढी मानिस बसोबास गर्दै आएका थिए। बस्ती विस्तारसँगै नदी किनार अतिक्रमण र जोखिमको विषय लामो समयदेखि उठ्दै आएको थियो।
सरकारी निकाय र स्थानीय तहले नदी किनारको अतिक्रमण हटाउने तथा सुरक्षित बसोबास व्यवस्थापन गर्ने योजना अघि सारेसँगै बस्ती खाली हुने क्रम बढेको हो। यस प्रक्रियाले आगामी दिनमा थप व्यवस्थित र सुरक्षित बस्ती विकासतर्फ मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ।










