काठमाडौं । सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले महेश गिरीलाई पक्राउ गरेको छ। भक्तपुर निवासी गिरीलाई मंगलबार काठमाडौंको गौशालाबाट नियन्त्रणमा लिइएको साइबर ब्युरोका प्रवक्ता एसपी दिलीप कुमार गिरीले जानकारी दिएका छन्। प्रहरीका अनुसार गिरीले फेसबुक प्रयोग गरी एक महिलाविरुद्ध अपमानजनक तथा प्रतिष्ठामा आँच पुर्याउने सामग्री प्रकाशित गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
बलात्कार पीडित शोभा पाठकले सामाजिक सञ्जालमार्फत आफ्नो फोटो दुरुपयोग गरी चरित्रहत्या गर्ने र धम्की दिने व्यक्तिका रूपमा गिरीलाई पक्राउ गरिएको उल्लेख गरेकी छन्। उनले आफूलाई मानसिक रूपमा हैरानी दिने अन्य व्यक्तिहरूविरुद्ध पनि कानुनी प्रक्रिया अघि बढाउने स्पष्ट पारेकी छन्। यस घटनालाई लिएर सामाजिक सञ्जालको दुरुपयोग र व्यक्तिको गोपनीयता तथा सम्मानमाथि हुने आक्रमणबारे पुनः गम्भीर प्रश्न उठेको छ।

प्रहरीले पक्राउ परेका गिरीमाथि विद्युतीय अपराधसम्बन्धी कसुर अन्तर्गत अनुसन्धान अघि बढाएको छ। एसपी गिरीका अनुसार बुधबार अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिनेछ। पछिल्लो समय साइबर अपराधका घटना बढ्दै गइरहेका कारण प्रहरीले यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कडा निगरानी तथा कारबाहीलाई प्राथमिकता दिएको जनाएको छ। साथै, नागरिकलाई सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार र सचेत हुन आग्रह गरिएको छ।










