काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालयले प्रसाईँलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम १ लाख रुपैयाँ जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजायको मागदाबी गर्दै अभियोगपत्र पेश गरेको हो।
प्रसाईँले पटक-पटक यस्तो कसुर दोहोर्याएको पाइएकाले सोही ऐनको दफा ४७ (२) अनुसार थप सजाय र अपराध पीडित संरक्षण ऐन बमोजिम पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क भराउन समेत माग गरिएको छ।

प्रसाईँले सामाजिक सञ्जाल (फेसबुक) मार्फत २०८२ फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनको सन्दर्भमा भ्रामक र उत्तेजक अभिव्यक्ति दिएको प्रहरी अनुसन्धानले देखाएको छ।
अभियोगपत्रमा उल्लेख गरिएका मुख्य विषयहरू यसप्रकार छन्:
– उनले “निर्वाचन गरिए देश टुक्रिन्छ” भन्दै समाजमा वैमनस्यता फैलाउन खोजेको र निर्वाचन आचारसंहिता २०८२ को उल्लंघन गरेको।
– फेसबुकमा पोस्ट गरिएका भिडियोहरूमा राजसंस्था र हिन्दु राज्य कायम नभएसम्म चुनाव हुन नदिने र चुनाव भएमा देशमा अशान्ति मच्चिने खालका चेतावनी दिएको।
– भिडियोहरूमा उनले “मर्न र मार्न तयार हुने” जस्ता हिंसात्मक शब्दहरू प्रयोग गरी सर्वसाधारणलाई उत्तेजित पार्न खोजेको दाबी गरिएको छ।
प्रसाईँले पछिल्लो समय सामाजिक सञ्जालमार्फत राजसंस्थाको वकालत गर्दै वर्तमान राजनीतिक व्यवस्था र निर्वाचन प्रक्रियामाथि निरन्तर प्रहार गर्दै आएका थिए। ती भिडियोहरूलाई नै प्रमुख प्रमाणका रूपमा पेश गर्दै सरकारी वकिल कार्यालयले उनीविरुद्ध कडा सजायको माग गरेको हो।
#hellosamaj #durgaprasai










