काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले नेपाल सरकारलाई ३३ बुँदे सुझाव पेश गर्दै मुलुकलाई श्रम, उत्पादन र आत्मनिर्भरतामा आधारित विकास मोडेलतर्फ लैजान आग्रह गरेका छन्। उनले वर्तमान नीतिगत संरचनाले रोजगारी, उत्पादन र सामाजिक न्याय सुनिश्चित गर्न नसकेको भन्दै व्यापक सुधारको खाँचो औंल्याएका छन्।
साम्पाङले शिक्षा प्रणालीमै आमूल परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै हप्ताको तीन दिन औपचारिक अध्ययन र बाँकी चार दिन श्रम, सीप, सिर्जना, उत्पादन तथा आविष्कारमा केन्द्रित गरिनुपर्ने प्रस्ताव अघि सारेका छन्। यसले युवालाई व्यवहारिक र उत्पादनमुखी बनाउने उनको दाबी छ।

उनले नेपालको सार्वभौमिकता र स्वतन्त्र परराष्ट्र नीतिलाई ध्यानमा राख्दै Millennium Challenge Corporation (MCC) र State Partnership Program (SPP) जस्ता सैन्य रणनीतिक प्रकृतिका सम्झौताबाट टाढा रहन सरकारलाई सुझाव दिएका छन्। यस्ता सम्झौताले दीर्घकालमा राष्ट्रिय हितमा असर पार्न सक्ने उनको भनाइ छ।
आधारभूत उपभोग्य वस्तुमा मूल्यवृद्धि नियन्त्रण गर्नुपर्नेमा जोड दिँदै उनले नुन, तेल, पेट्रोलियम पदार्थजस्ता दैनिक आवश्यक वस्तुको मूल्य सर्वसाधारणको पहुँचमा राख्न विशेष नीति आवश्यक रहेको बताएका छन्। यसले महँगी नियन्त्रणमा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरेका छन्।
सहकारी क्षेत्रका समस्यालाई गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै साम्पाङले सहकारी पीडितको बचत सञ्चालक तथा जिम्मेवार व्यक्तिको जायजेथाबाट फिर्ता गरिनुपर्ने स्पष्ट धारणा राखेका छन्। यसका लागि कडा कानुनी व्यवस्था आवश्यक रहेको उनले औंल्याएका छन्।
रोजगारी सृजनालाई प्राथमिकतामा राख्दै उनले ‘एक परिवार, एक रोजगार’ नीति लागू गर्न प्रस्ताव गरेका छन्। यसले बेरोजगारी घटाउने र आर्थिक असमानता न्यूनीकरणमा सहयोग पुग्ने उनको विश्वास छ।
सामाजिक न्याय र समानताको पक्षमा बोल्दै उनले देश धनी वर्गको मात्र नभई गरिबको पनि हो भन्ने अनुभूति दिलाउने नीतिहरू आवश्यक रहेको बताएका छन्। राज्यका सेवासुविधा र अवसरमा समान पहुँच सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिएका छन्।
भ्रष्टाचार नियन्त्रणतर्फ कडा कदम चाल्नुपर्नेमा जोड दिँदै उनले स्रोतविनाको सम्पत्ति राष्ट्रियकरण गर्ने तथा काम नगर्ने र भ्रष्ट कर्मचारीलाई बर्खास्त गर्ने कानुन निर्माण गर्नुपर्ने बताएका छन्।
यसले प्रशासनिक प्रणालीमा सुधार ल्याउने उनको अपेक्षा छ।
कृषि क्षेत्रलाई उत्पादनमुखी बनाउँदै गाउँघरसम्म कृषि क्रान्ति पु¥याउनुपर्ने उनको अर्को महत्वपूर्ण सुझाव छ। उनले किसानलाई प्रविधि, बजार र प्रोत्साहनसँग जोडेर देशलाई आत्मनिर्भर अर्थतन्त्रतर्फ उन्मुख गराउन सरकारलाई आग्रह गरेका छन्।










