Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपालको सन्दर्भमा पशुपति महायज्ञ : बिपुल बिक्रम ” खस “

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 18, 2024
3 shares

खस, किराँत र नेवा सभ्यता भएको नेपालमा बुद्ध धर्मले पनि सहजै स्थान पायो । नाग वंश त बुद्धका रक्षक वंश नै थिए, बुद्धलाई नागको फणाले छोपेर राखेको मूर्ति यसैको प्रतीक थियो ।

नेपाली समाज या भनौँ खस, किराँत र नेवा सभ्यता गैर वैदिक सभ्यता हुन् । शहरका टाठाबाठा बाहेक यदि हामी गाउँका बुढापाका या खेती किसानी गरेर बसिरहेका आजका नै समुदायलाई हेर्ने हो भने यी समुदायका मानिसहरू अति नै सोझा, धर्म परायण र आस्थावान छन्, जो यिनका पुर्खाहरू थिए । यिनका पुर्खाहरू देउराली भन्ज्याङका ढुङ्गामा फूलपाती र पानी चलाएर आफ्नो आस्था प्रकट गर्दथे । अझै पनि नेवाहरुको पूजा सामग्री हेर्ने हो भने त्यसमा केवल कृषि उत्पादनहरू मूला, केराउ, चामल, च्यूरा, अदुवा, उखु आदि मात्रै हुन्छ, शाक्त पूजामा भने दही, मासु, जाँड रक्सी हुन्छ । यसमा धूप, बत्ती, अबिर, कपडा आदि हुँदैन, भए नयाँ प्रचलन गरिएका हुन् । खस र किराँतहरूको पूजा प्रकृति पनि लगभग यस्तै छ । यी तीनै सभ्यताको मानिसहरू प्राकृतिक पूजक थिए, खेती र पशुपालन गर्ने भएकोले यिनका सबै संस्कार र प्रचलनहरू विशुद्ध खेती र पशुपालनसँगै जोडिएको छ । यिनको आस्था, श्रद्धा र पूजा विशुद्ध रूपमा पितृ र प्रकृति बाहेक अरू कतै छँदै छैन । यिनका देवता भनेकै शक्ति पीठ र पितृ मात्रै हुन्, जहाँ सामान्य रूपमा फूलपाती र पानी मात्रै चढाइन्छ, कुनै विधि विधान सहितको पूजा प्रणाली छैन । बलि प्राग कालदेखि चल्दै आएको संस्कार हो, यो पनि पशु धन वृद्धिको कामना गर्दै पितृलाई गरिने पूजा नै हो । बलिमा पनि पशु या पन्छिलाई पानीले पर्साइने गरिन्छ, पर्सिने कामलाई पशुको पनि स्वीकारोक्तिको रूपमा लिइन्छ, बलि दिएपछि मुखमा पानी पनि हालिन्छ, यो भनेको पशुलाई पनि श्रद्धाले बिदा गरेको हो । बलि दिएपछि गर्दनको छाला भुत्ला सहित पितृलाई चढाएर ढोकाको माथि टाँसिन्छ, रगतको पञ्जाछाप लगाइन्छ ।

मेरो आजसम्मको अनुभव र ज्ञानले के भन्न सक्छु भने यी शक्ति पीठमा शक्ति चैँ छ, त्यो शक्ति प्राकृतिक हो, या ईश्वरीय हो, या आस्थाबाट उब्जेको आत्मबल र पजेटिभ भाइब हो ! म भन्न सक्दिन, तर त्यो शक्ति चैँ छ । मैले नेवाहरूको लाखे नाचमा लाखे बन्ने युवामा आएको त्यो अचम्मको शक्ति आँखैले देखेको छु, त्यो शरीरमा आउने कम्प र बललाई आठ-दश जनाले पनि थाम्न सक्दैन । लाखेको मुकुट लगाई सकेपछि चोक या नाच्ने ठाउँसम्म ल्याउन आठ-दश जनालाई पनि हम्मेहम्मे पर्छ । लाखे नाच्न थाले पछि दुई घण्टासम्म पनि नाच्न सक्छ र पछि क्षमा पूजा गरेपछि मात्रै त्यो शक्तिलाई शान्त पार्न सकिन्छ । जब लाखेको मुकुट उतारियो र लुगा फेरियो, तब मैले त्यत्तिको अद्भुत बल र नाच्ने शक्ति त्यो युवकमा भएको विश्वास नै गर्न सकिन । खस, किराँत र नेवा सभ्यता गैर वैदिक शाक्त परम्पराका सभ्यता हुन्, झाँक्री र लाखे यही परम्पराका अङ्ग हुन् । स्यू, सि, या शि मे भू मे प्रकृतिका देवता हुन् । वास्तवमा भन्ने हो भने शाक्त परम्पराको पूजा विधिमा मन्त्रको प्रावधान पछि मात्रै गाँसिएको देखिन्छ । ती मन्त्रहरू पनि झाँक्रीले जप्ने अष्पष्ट शब्दहरू हुन्, शक्ति चढेको बेलामा बोलिने ती मन्त्रहरू के हुन् कसैलाई थाहा छैन, यसैले संस्कृतका मन्त्रहरू पछि प्रचलनमा ल्याइएका हुन् । योगकाे जन्म हठ योगबाट भएको मानिन्छ र यसको प्रमुख गुरु गोरखनाथ हुन्, गोरखाका । बुद्ध पनि योगका ज्ञाता थिए, बुद्धले आफ्नो आयु यही योगको बलले तीन महिना लम्बाएका थिए । योग र ध्यान पनि नेपालको शाक्त परम्पराकै देन हो ।

समग्रमा भन्नु पर्दा नेपालका तीनै सभ्यता सरल सभ्यता हुन् । यिनमा कुनै श्वैरकल्पनाका देवता छैनन्, प्रमुख देव शिव हुन् जो प्राग कालदेखि नै मान्य छन्, शिव र शक्ति या पारुहाङ सुम्निमा, सि मे, भू मे, अजा, अजिमा एकै हुन्, प्रकृति र पितृ हुन् । यसैले नेपालीहरू सरल रूपमा माने पनि घुमाइ दिन्छन् र सहज रूपमा बलि पनि दिन्छन्, फूलपाती चढाएर भन्ज्याङमा ढोगी दिन्छन्, रातो र पहेँलो अक्षता छर्केर लागुभागु पनि मन्साउँछन् । खस किराँत र नेवा तीनै सभ्यतामा न त छुवाछुतको कुनै बारना थियो न त तल्लो र माथिल्लो जातको छनक थियो, सबै समान थिए सबै बराबर थिए सबै समाजको लागि आवश्यक र सम्माननीय थिए ।

खस, किराँत र नेवा सभ्यता भएको नेपालमा बुद्ध धर्मले पनि सहजै स्थान पायो । नाग वंश त बुद्धका रक्षक वंश नै थिए, बुद्धलाई नागको फणाले छोपेर राखेको मूर्ति यसैको प्रतीक थियो । यसैले नै पश्चिमका खस सभ्यताका नाग, चल्ल, मल्ल राज्यहरूमा बुद्ध धम्म अपनाइयो, तर स्वेच्छाले अपनाइएको थियो, कुनै करकापको या राज्यले बाध्यात्मक बनाएर अपनाइएको थिएन । बाह्रौँ शताब्दी पछि भने नेपालमा पनि बिस्तारै ब्राह्मण धर्म भित्रियो । ब्राह्मण धर्मको देखासिकी खस सभ्यतामा पनि धेरैले जनै लगाएर आफूलाई उच्च र सभ्य भन्ने देखाउने कोसिस गरे । जनै लगाउनुको प्रमुख कारण भनेको भारतका राजपूतहरू सँग वैवाहिक सम्बन्ध गाँस्नु थियो । यसैले खस शासक वर्गकारहरू पनि जनै लगाएर ठकुरीमा उक्लिए, राजपूत कन्या विवाह गर्न र आफ्ना कन्या दिन थाले । तर जनै नलगाएर आफ्नो प्राचीन परम्परामा अडिग रहनेहरू पनि प्रशस्तै थिए जुन राणा कालसम्म यथावत् कायम थियो भने अहिले पनि पावइ खसहरू पश्चिममा यथावत् देख्न सकिन्छ । ब्राह्मण धर्मको सुरुवातसँगै नेपालमा पनि जातपात, छुवाछुत र ऊँचनीचको अर्बुद रोग भित्रियो । सुरुमा खसहरूले यसलाई अनुकरण गर्न थाले भने बिस्तारै नेवा सभ्यतामा पनि यो रोग सल्कियो, किराँत सभ्यताले भने यसलाई अनुकरण गरेन ।

ब्राह्मण धर्मको मूल वेद हो, वेदमा थुप्रै राम्रा कुराहरू छन्, यो सत्य हो । वेदले काव्यको सुरुवात गरेको छ । यसले छन्द र नाटकको सुरुवात गरेको छ । वेदमा दर्शन पनि छ, पूर्वीय दर्शनको उद्गम श्रोत वेद नै हो । वेदले गायनलाई सुर दिएको छ । वेदमा स्वैरकल्पनाको उच्चतम उडान पनि भएको छ । वेदले प्राग इतिहासलाई सम्झेसम्म लेख्ने प्रयास गरेको छ, यसमा थुप्रै कुराहरू समयान्तरले गर्दा बदलिएका भने छन्, द्यौसको ठाउँ इन्द्रले लिएका छन्, सुमेरियन देवताहरू र स्थानलाई पनि आफ्नै सम्झनामा समेटिएको छ । तथापि, वेदले जाति प्रथा, ऊँचनीच र छुवाछूतको बीउ पनि रोपिदिएको छ र यो रोप्ने काम वैदिकजनले गरेको नभएर पछिका ब्राह्मणहरूले थपेका प्रक्षिप्त ऋचाहरूले गरेका हुन् भन्नेमा सबै विद्वानहरू एक मत छन् । जसले वेदको राम्ररी अध्ययन गरेका छन् ती सबैले यसलाई बुझेका छन्, विरोध गरेका छन्, तर यसो गर्नेहरूको सङ्ख्या थोरै छ, असर पनि थोरै नै छ । वेदकै दाँजोमा उपनिषद, स्मृति, पुराण, ब्राह्मण ग्रन्थ आदि सबैमा राम्रा र नराम्रा कुराहरू छ्यासमिस भएर रहेका छन् ।

ब्राह्मण धर्मले सबैभन्दा पहिले ब्राह्मण जातिलाई रक्षा गर्ने कोसिस गर्यो । यसको लागि ब्राह्मण जातिलाई शास्त्रद्वारा नै उच्च कोटिको जातिका राख्न थाल्यो । ब्राह्मणलाई अवध्य (मार्न नहुने र जस्तो सुकै अपराध गरे पनि मृत्यु दण्ड दिन नहुने) बनायो । भृगुले विष्णुको छातीमा लात हान्दा पनि त्यो क्षम्य हुने जस्ता पुराणका विभिन्न कथाहरू मार्फत देवताहरू पनि ब्राह्मणभन्दा तलका बनाइए । राजा र दरबारले समेत ब्राह्मण शास्त्रद्वारा नै राज्य चलाउन लागेपछि राजालाई सुझाव दिनेमा ब्राह्मणहरू नै भएकाले परोक्ष रूपमा ब्राह्मणहरूका शास्त्र र ब्राह्मणहरू नै राज्यका सर्वेसर्वा भए, क्षत्रिय जातिहरूलाई ब्राह्मणको रक्षक बनाइयो । यसरी ब्राह्मणहरूको धन हरण गर्न नहुने, चोरी गर्न नहुने, विभिन्न प्रकारका दान दिनु पर्ने, कर नलाग्ने र ब्राह्मणको मुखबाट निस्किएको शब्द नै ब्रह्म वाक्य हुन पुग्यो । धार्मिक ग्रन्थहरूमा ब्राह्मण जात अत्यन्तै पवित्र हुन पुगे जसको चरण धोएको पानी समेत पवित्र बनाइयो । धार्मिक ग्रन्थहरूमा जातपात, छुवाछुत र ऊँचनीचको धारणाहरू, तिनलाई समर्थन गर्ने श्लोकहरू र ती प्रचलनहरू बढ्दै गए ।

ब्राह्मण धर्ममा स्पष्ट रूपमा दुई धार छन्, वैष्णव मार्ग र शैव मार्ग । यी दुई मध्ये शैव मार्ग प्रमुख र जनप्रिय छ । शैव मार्गमा सरल विधि, योग, शाक्त या शक्ति आराधना र पितृ पूजाको कारणले ब्राह्मणहरू पनि यसतर्फ आकर्षित भए । अर्को कुरा, अधिकांश वैदिक जनहरूको ब्रातहरूसँग रक्त मिश्रण हुन गयो र ब्रातहरूका छोरी चेलीले आफ्नो प्राचीन धर्मलाई अङ्गालेका कारण तिनका सन्तानहरूले पनि आफ्नै आमाको अनुसरण गरे भने तिनका सन्तान त स्वाभाविक रूपमा शैव मार्ग अनुसरण गर्ने भई हाले । यसले वैष्णव मार्गीहरूमा प्रतिस्पर्धाको भावना जागृत गरायो । वैष्णव मार्गीहरूले वेद र उपनिषदका दर्शन बिर्सिसकेका मात्र थिएनन्, अपितु त्यसलाई लत्त्याइदिएका थिए । वेदका इन्द्र प्रभृतिका देवताहरूको स्थानमा विष्णु प्रमुख देवता बनाइयो, जब कि यिनै विष्णु वेदमा इन्द्रका सहायक मात्र छन् । अको कुरा, उपनिषदको दर्शनले स्वर्गभन्दा माथिको मोक्षको अवधारणा प्रतिपादन गरेको थियो । वैष्णव मार्गीहरू कर्मकाण्डी भएकाले मोक्षको अवधारणलाई पनि कर्मकाण्ड मार्फत प्राप्त गर्न सकिन्छ भनेर थुप्रै शास्त्रहरू बने, गरुड पुराण भित्रको प्रेत कल्प (जसलाई अझै गरुड पुराणको नाममा कसैको मृत्यु हुँदा कथा भन्ने गरिन्छ) यसैका लागि बनाइएको थियो । ब्राह्मण धर्ममा जति पनि यज्ञ, होम आदि कर्मकाण्डहरू छन् ती सबै वैष्णव मार्गीहरूकै देन हो । आफ्ना आराध्य देव विष्णुलाई महान स्थापित गर्न कर्मकाण्डका पुस्तकहरूमा, पुराण कथाहरूमा, अवतारवादका कथाहरूमा, र अन्य शास्त्रहरूमा जुन रूपमा विष्णुलाई चित्रण गरियो र शिव लगायत थुप्रै अन्य देवताहरूलाई खसालियो, या गौण बनाइयो, त्यसले जनमानसमा निक्कै ठुलो भ्रम उत्पन्न गरिदियो । यसले शैव मार्गीहरूलाई पनि आफ्नो शिव ठुलो भन्ने देखाउन उक्साहट भयो भने बुद्धका अवतारवादका कथाहरू पनि यही प्रतिस्पर्धाका देन हुन् । अर्कोतिर सरल शैव मार्गी भित्र पनि कर्मकाण्डहरू हुलियो । उदाहरणको लागि शिव रात्रिको दिन के हुन्छ ? शिवलिंगमा पत्र पुष्प र पानी चढाएर पूजा हुन्छ, त्यत्ति हो । तर रुद्री पाठ, बोल बम, कावड आदि कर्मकाण्ड घुसाएर शिवलाई पनि वैदिक देवता बनाइयो, शिव पुराण आदि कथाबाट शिवलाई गाँजा भाङ धतुरो खाने, मसानमा बस्ने आदि अनेक रूप दिइयो, वेदको प्रथम ऋचाको अग्नि देवलाई शिवको वीर्य निल्न लगाइयो, यस्ता अमिल्दा कथाहरू भनेर साध्य छैन ।

ब्राह्मण धर्मले वेद उपनिषदको दर्शन त्यागे पछिका शास्त्रहरू समाजलाई अपच भएपछि आफ्नो मार्गमा बाँधी राख्न नयाँ तरिका निस्कियो, नाम सङ्कीर्तन र भागवत पुराण वाचन । अर्थात्, पाप नास गर्न नाम मात्रै जपे पनि मोक्ष माइने धारणा अगाडि ल्याइयो, दान दिएर, सप्ताह लगाएर या होमादि यज्ञादि कार्य गरेमा सबै पापबाट मुक्ति भएर मोक्ष पाइने अवधारण अगाडि ल्याइयो । अहिले विष्णु केवल कर्मकाण्डका देवता भएका छन्, उनको स्थान कृष्णले लिएका छन् । निम्बार्क सम्प्रदायले कृष्णलाई अझ बल दिएको छ, कृष्णसँगै राधालाई समेत अगाडि ल्याएको छ । श्रीमद्भागवत पुराण कथा लगाए, सुने सुनाए मात्रै पनि मोक्ष पाइने धारणालाई अगाडि बढाइएको छ । अर्थात्, अहिले वेद, उपनिषदका दर्शन र बाँकी पुराण कथाहरू र शास्त्रहरूको प्रयोग र प्रयोजन त्यति रहेन जति पहिले थियो ।

धर्मले मानिसलाई टाढा राखे मानिसले पनि धर्मलाई टाढा राखिदिन्छ । यो कुरा भर्खरै पशुपतिमा गरिएको महायज्ञले साबित गरिदिएको छ । शास्त्रका आधारमा जातपात, ऊँचनीच र छुवाछुत गरेर मानिसलाई धर्मले टाढा बनाइदिएको परिणाममा अहिले मानिसहरूले पनि धर्मलाई टाढा र बेवास्ता गरिदिएकाले ब्राह्मण धर्मका ठेकेदारहरू आत्तिएका देखियो । धर्म माथिको मानिसको आस्था घटिरहेको, धर्म परिवर्तन गरिरहेको र कर्मकाण्डी कुराहरूमा मानिसको त्यति विश्वास नरहेको कारणले आम्दानीको श्रोत दान दक्षिणा घटिरहेको र आफ्नो पकड खस्कँदै गएको छ । पशुपतिमा गरिएको महायज्ञ नै शास्त्र सम्मत छैन, महायज्ञ लगाउने साइत नै थिएन भन्दै विरोध गर्ने शास्त्रका ज्ञाताहरू अहिले कुर्लिरहेका छन् भने महायज्ञ र कर्ताहरू सबै आलोचित र विवादित भएकाले महायज्ञ पनि केवल कमाइ खाने भाँडो हो भन्ने सन्देश सर्वसाधारणहरूमा प्रवाहित भएको छ । यसले साधारण आस्थावान्हरूको आस्था पनि डगमगाएको छ ।
ब्राह्मण धर्मका ठेकेदारहरूलाई अहिले ठुलो सकस भइरहेको छ । कमजोरी के भयो भने आआफ्नो पन्थ, मार्ग, सम्प्रदायलाई बढावा दिन अन्टसन्ट कथा शास्त्रमा लेख्नेले मूल दर्शनलाई भने उहिल्यै तिलाञ्जली दिइसकेको छ । त्यसमाथि पन्थ र सम्प्रदायहरू थपिँदै छन्, यसलाई शास्त्र सम्मत छैन पनि भन्न सकिरहेका छैनन्, यसले अन्योल झन थपिरहेको छ । अहिले पुराना सबै शास्त्रहरू अहिले समय सान्दर्भिक छैनन्, यी शास्त्रको आडमा र यिनै शास्त्रले बढावा दिएका थुप्रै अमानवीय प्रचलनहरूले समाज आजित भएर बसेको छ, ती हट्नु पर्छ भन्ने सबैको धारणा छ । यसको लागि पुराना शास्त्रहरूमा संशोधन गर्न आवश्यक छ । तर संशोधन गर्ने बित्तिकै ती सबै शास्त्रहरूमा झुटा कुरा लेखिएर अमानवीय कुसंस्कारहरू प्रचलन गरिएको थियो भन्ने कुरा स्थापित हुन्छ, जुन ब्राह्मणहरू गर्न सक्दैनन् । दोश्रो, अब त्यस्तै खाले शास्त्र लेख्न सक्ने कुनै विद्वान ब्राह्मणहरू पनि छैनन्, र लेखिए पनि तिनलाई भगवानको मुखबाट निस्किएको या लाखौँ वर्ष पहिले लेखिएको भन्न सकिन्न । यसले फेरि उनीहरूकै साख गिर्दछ, पकड कमजोर हुन्छ, कमाइको बाटो बन्द हुन्छ । यी दुवै नगर्ने हो भने यथास्थिति रहन्छ, यसले झन् ब्राह्मण धर्म क्षय हुँदै जान्छ ।

नेपाल र नेपालीहरू यति सरल छन् कि उनीहरू अबिर लागेको डुङ्गालाई पनि कुनै देवता भनेर ढोगिदिन्छन् । यति सरल र पवित्र व्यवहार भएकाहरूलाई धर्मको नाममा कति लुट्ने ? कति ठग्ने ? कति अमानवीय जातपात छुवाछुत र उचनीचको जालोमा बाँधी राख्ने ? पशुपति महाहोमले यिनै प्रश्नहरू उठाइसकेको छ । व्यासाशनमा कृष्ण दमाई विराजमान हुनुले अब धर्मले छुवाछूत त्यागेको घोषणा गर्नेहरूको अर्को आपत् के हो भने शास्त्रले त्यस्तो विधान किन बनायो भन्ने प्रश्नको उत्तर दिन बाध्य पारेको छ । शास्त्रमा छैन भन्ने तर्क दिनेले समाजले हजारौँ वर्षदेखि सोझै भोगिरहेको अमानवीय जातपात छुवाछुत र उचनीच कसरी भयो त भन्ने प्रश्न फेरि उठाउनेछन् । अर्थात्, शास्त्रमा भएको राम्रा कुरा र दर्शनको जति दुहाई दिए पनि ब्राह्मण धर्मका शास्त्रहरू अहिले समयानुकूल छैनन्, ती त्याग्नै पर्छ भन्ने सत्य स्थापित गरिदिएको छ ।

*हिन्दु शब्द फारसीहरूले दिएका हुन्, “सनन्तनो” शब्द बुद्धले प्रयोग गरेका हुन्, पाली भाषाको “सनन्तनो” बाट सनातन लिइएको हो, यसैले ब्राह्मण धर्म शब्द उचित छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

मनसुन सक्रिय: बागमतीसहित पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर...

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved