काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङको सिन्धुपाल्चोकस्थित अम्बाथानमा रहेको मूल ढोका (गेट) बन्द गरेको छ ।
योसँगै काठमाडौंमा मेलम्चीबाट पानी आउन बन्द भएको छ । ‘प्रि(मनसुन’ (वर्षायाम) सक्रिय भएपछि मेलम्ची खानेपानी विकास समितिले सुरुङको ढोका बन्द गरेको हो । बाढी आउने गरी मनसुन सक्रिय हुने अवस्था आएलगत्तै आयोजनाबाट पानी ल्याउन रोक्ने समितिको तयारी थियो । मंगलबार सुरुङको मुख बन्द गरेर त्यहाँबाट प्राविधिकहरु फर्किएका छन् ।

गत ११ वैशाखबाट सरकारले सिन्धुपाल्चोकस्थित बाँधस्थलमा अस्थायी संरचना तयार गरेर काठमाडौंमा पुनः मेलम्चीको पानी वितरण थालेको थियो । अस्थायी बाँध बाँधेर सिधै सुरुङमा पानी हालिएकाले वषरयाममा सुरुङमा हुनसक्ने जोखिमलाई ध्यान दिएर सुरुङ बन्द गरिएको आयोजनाका एक अधिकारीले बताए ।
उनका अनुसार जल तथा मौसम विज्ञान विभागसँग मौसमी अवस्थाबारे परामर्श लिएर सुरुङ बन्द गरिएको हो ।










