काठमाडौं । कैलालीको टिकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामलाल डगौरा थारु निर्वाचित भएका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी कांग्रेसका नवराज रावललाई तीन हजार मत अन्तरले पराजित गरेका हुन् ।
डगौराले ९ हजार ६ सय ४२ मत प्राप्त गरेका छन् । कांग्रेसका उम्मेदवार रावलले ६ हजार ६ सय ४२ मत पाएका थिए । उपमेयरमा भने माओवादी केन्द्रका खडक शाह निर्वाचित भए ।

उनले नागरिक उन्मुक्ति पार्टीका उल्कादेवी विकलाई १ सय ५३ मतान्तरले पराजित गरेका थिए । माओवादी केन्द्रका शाहले ७ हजार ९ सय ५५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी विकले ७ हजार ८ सय २ मत प्राप्त गरिन् ।
सुदूरपश्चिम अखण्ड र थारुवानरथारुहट आन्दोलनबाट सिर्जित टिकापुर घटनाका आरोपित रेशम चौधरीकी पत्नी रन्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ती पार्टी ३ महिनाअघि निर्वाचन आयोगमा दर्ता भएको थियो । उक्त पार्टीले स्थानीय तहको निर्वाचनका माध्यमबाट टिकापुरसहित वरपरका जानकी, जोशीपुर र भजनी नगरपालिकाको स्थानीय निर्वाचनमा प्रभाव देखाएको छ ।










