काठमाडौैं । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना आउने क्रममा जारी छ । यो पटकको स्थानीय तह निर्वाचन स्वतन्त्र उम्मेदवारका कारण जनताले बढी चासोका साथ हेरेको पाइएको छ ।
काठमाडौंमा ठूला दलका हेबिवेट उम्मेदवारलाई हायलकायल पारिरहेको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको लौरोले धरान उपमहानगरपालिकामा समेत रुखलाई हान्न थालेको छ ।

कांग्रेसका मेयर उम्मेदवार किशोर राईको शुरुदेखिकै फराकिलो अग्रता रहेको थियो । तर, पछिल्लो मतपरिणाम अनुसार लौरोधारी स्वतन्त्र उम्मेदवार हर्क साङपाङले रोकेर अघि बढेका छन् ।
पछिल्लो गणना अनुसार रुखको ८१२६ मत छ भने लौरोको ८१४० मत छ । एमालेकी मञ्जु भण्डारी भने ६७१३ मतसहित निकै पछाडि छन् । उपमेयरमा भने एमाले र कांग्रेसका उम्मेदवारको टक्कर देख्न सकिन्छ ।
हर्क साङपाङको लौरोले धरानमा अधिकांश एमालेको मत लिएको छ । कांग्रेसको पनि उल्लेख्य मत लौरोमा गएको देखिएको छ । उनी लो प्रोफाइलका लोकप्रिय उम्मेदवार भनेर नेपाल प्रेसले सबैभन्दा पहिले उनको उम्मेदवारीबारे सार्वजनिक बहस गराएको थियो ।










