काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको दोस्रो दिन नेप्से परिसूचक १.५५ अङ्कले उकालो लागेर दुई हजार ५४४.९४ मा पुगेको हो ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४१ अङ्कले बढेर ४९२.५३ मा पुगेको छ । कूल २३० कम्पनीको ५३ लाख १५ हजार २९२ कित्ता शेयर रु दुई अर्ब ६० करोड नौ लाख ३० हजार ४०३ मूल्यमा कारोबार भयो ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ । बैंकिङ ६.४, होटल तथा पर्यटन १४.१८, निर्जीवन बीमा ९.८८, उत्पादन ८७.६३, अन्य ३५.५ अङ्कले उकालो लागेको छ । यस्तै व्यापार १५.७४, विकास बैंक २१.४१, जलविद्युत् ३१.९९, वित्त २८.२४, लघुवित्त ४.५७, जीवन बीमा १५०.३२, सामूहिक लगानी कोष ०.०६ र लगानी ०.५७ अङ्कले ओरालो लागेको छ ।










