सिन्धुपाल्चोक । खाडीचौर चिम्लिङ सडक कुनामा लगाइएको मेशिनरी वाल भत्किएको छ । बलेफी गाउँपालिका-७ मा दुई महिना अघि लगाइएको उक्त वाल भत्किएपछि स्थानीय आक्रोशित भएका छन् । जिल्ला समन्वय समितिले गएको बर्ष ४० लाख रुपियाँ वाल लगाउन बजेट दिएको थियो ।
स्थानीय श्याम थिङ अध्यक्ष रहेको उपभोक्ता समितिले उक्त वाल लगाएको थियो । नेपाली काँग्रेसका बलेफी गाउँपालिका-७ का वडा सभापति अमृत अधिकारीले गुणास्तरहीन वाल लगाइएका कारण दुई महिना नबित्दै वाल भत्किएको दुखसो गर्नुभयो । त्यसो त नेकपा माओबादी केन्द्रका नेता एवम सरस्वती माध्यमिक बिद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र नेपालले गुणास्तरहीन वाल लगाउनेलाई कडा कारवाही हुनुपर्ने माग राख्नु भयो ।


उक्त वाल निमार्णमा अति लापरवाही भएका कारण दुई महिनामै भत्किएको एमाले नेता सुवास सुन्दासले बताउनु भयो । करिब एक महिना अघि सुन्दासको संयोजकत्वमा सो वालको गुणास्तरीयता बारे छानबीन गर्न १३ सदस्यीय समिति बनेको थियो । सो वडाका वडा अध्यक्ष कार्केल लामाले वाल पुन लगाउनु पर्ने बताउदै आउनु भएको छ । तर स्थानीयले वडा अध्यक्ष लामा, प्राबिधिक सञ्जय प्याकुरेल, उपभोक्ता समितिका अध्यक्ष श्याम थिङ, जिल्ला समन्वय समितिका अध्यक्ष गोपालकृष्ण तामाङ लगायतको मिलोमतोमा गुणास्तरहीन वाल निमार्ण भएको आरोप लगाउछँन् ।
यसबारे जिल्ला समन्वय समितिका अध्यक्ष तामाङले आफूलाई केही थाहा नभएको बताउनु भएको छ । प्राबिधिक प्याकुरेलले वाल गुणास्तरयुक्त लगाएको जानकारी दिनु भएको छ । गुणास्तरयुक्त वाल निमार्ण भएको भए किन दुई महिनामै भत्कियो स्थानीय सिताराम पराजुलीले प्रश्न गर्नु भयो ।










