रवीन्द्र घिमिरे,काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८मा नेपालमा विद्युत खपत उच्च दरमा वृद्धि भएको छ । महामारीका बीचमा पनि प्रणालीमा उच्च दरको माग देखिँदा खपत करिब १४ प्रतिशतले बढेको छ । खपत बढ्दा पनि नेपाल विद्युत प्राधिकरणको नाफा भने खुम्चिन पुगेको छ ।
गत वर्षसम्म वार्षिक प्रतिव्यक्ति विद्युत खपत २६० युनिट थियो । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार खपत एकैवर्षमा विद्युत १४ प्रतिशतले बढ्न पुगेको छ ।

यसअनुसार प्रतिव्यक्ति खपत वार्षिक ३५ युनिटभन्दा बढीले उचालिएर २९५ युनिटभन्दा माथि पुगेको अनुमान छ । ५ वर्षअघिसम्म यस्तो विद्युत खपतदर १३१ युनिट थियो ।
तर, लगातार प्राधिकरणले विद्युत खपत बढाउँदै लगेको छ । प्राधिकरणले अहिलेसम्म गत आर्थिक वर्षको वित्तीय विवरणको विश्लेषण सकेको छैन ।
अप्रशोधित तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७/७८मा नाफा आधा घटेपनि प्राधिकरणले करिब ८ अर्ब ८८ करोड युनिट विद्युत खपत गरेको प्राधिकरण स्रोतले जनाएको छ । प्राधिरकरणले आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत वर्ष करिब ५२ करोड युनिट बिजुली प्रणालीमा उपलब्ध गराउनुपर्यो ।
विद्युत खपत वृद्धिमा प्राधिकरणले लगातार सफलता हात पर्दै आएको छ । आर्थिक वर्ष २०७२/७३ मा वाषिर्क विद्युत खपत ३ अर्ब ७१ करोड ५८ लाख युनिट थियो । यो खपत दर आर्थिक वर्ष २०७१/७२ भन्दा पनि त्यो वर्ष विद्युत उपयोग करिब ०.७ प्रतिशतले कम थियो ।
आर्थिक वर्ष २०७३/७४ को कूल विद्युत खपत ४ अर्ब ७७ करोड ३८ लाख युनिट थियो । २०७४/७५ मा ५ अर्ब ५५ करोड ७३ लाख युनिट भयो । २०७५/७६ मा कूल खपत ६ अर्ब ३३ करोड ८१ लाख र २०७६/७७ को कूल खपत ६ अर्ब ५२ करोड ८७ लाख युनिट पुग्यो । आव २०७६/७६मा ७ अर्ब ७४ करोड युनिट रहेको खपत अहिले करिब ८ अर्ब ८८ करोड युनिटमा पुगेको छ ।










