नयाँ प्रधानमन्त्रीको रुपमा काँग्रेस सभापति शेरबहादुर देउवाले आज साँझ ५ बजे शीतल निवासमा शपथ ग्रहण गर्नुहुने भएको छ ।राष्ट्रपति कार्यालयको प्रशासनले देउवा निवास बूढानीलकण्ठमा आज साँझ ५ बजे शपथ ग्रहणको निम्ति तयारी अवस्थामा रहन भनी हिजै जानकारी गराइसकेको छ ।
यता,बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको सबै सामान हिजो साँझदेखि प्याकिङ गर्न थालिएको छ । आजै दिउँसाे २ बजे अगावै बालकोट सर्ने तयारी छ । बालकोटमा आफ्नै घर भएकाले तयारी खासै हेर्न नपर्ने सुरक्षा स्रोतको भनाई छ ।

हिजो साँझ शीतल निवासबाट प्रधानमन्त्री केपी शर्मा ओली फर्केपछि एमाले महासचिव ईश्वर पोखरेल केहीबेर त्यहिँ बस्नुभएको थियो । त्यति नै बेला महेश बस्नेत पनि शीतल निवास पुगेर उहाँहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सामूहिक भेटवार्ता गर्नुभएको बताइन्छ ।
साँझमा पहिले प्रधानमन्त्री ओली र पोखरेलसँगै शीतल निवास छिर्नुभएको थियो । अरु सबै नेता बालुवाटारमा राती नौ बजेसम्म बसे पनि पोखरेल र बस्नेत भने उतै हुनुहुन्थ्यो ।
यता प्रधानमन्त्री केपी शर्मा ओलीले भने बालुवाटारमा एमाले स्थायी समितिको बैठक आज बिहान डाक्नुभएको छ ।
हिजो दिउँसो एमाले उपाध्यक्ष भीम रावलले प्रधानमन्त्रीसँग बालुवाटारमा भेट गर्नुभएको थियो । त्यतिबेला वरिष्ठ नेता माधवकुमार नेपालको निवास,कोटेश्वरमा विपक्षी गठबन्धनको बैठक भइरहेको थियो । हिजै सुरक्षा निकायले सर्वोच्च अदालतको संवैधानिक इजलासमा रहनुभएका पाँचै जना न्यायाधीशहरुको निम्ति थप सुरक्षाकर्मी पनि परिचालन गरेको छ ।










