कृष्ण कुँवर कर्नेलियस अबुधाबी – पर्वतको फलेवास नगरपालिका–४, मुडिकुवाका ४२ वर्षीय केशव शर्मा पौडेललाई उपचार तथा पारिवारिक जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग गरिएको छ।
गत २०८३ असोज ५ गते घाँस काट्ने क्रममा भएको गम्भीर दुर्घटनामा परी पौडेलले आफ्नो एउटा हात गुमाउनुपरेको थियो। दुर्घटनापछि उपचार तथा दैनिक जीवनयापनमा कठिनाइ भोगिरहेका पौडेलको परिवारलाई राहत पुर्याउन समाजसेवी यज्ञ क्षेत्रीले सहयोग जुटाउन पहल गरेका हुन्।
क्षेत्रिको पहलमा बेलायतमा रहेका आठ जना नेपालीबाट कुल ३२५ पाउन्ड अर्थात् नेपाली रुपैयाँ ६५ हजार ५६८ रुपैयाँ ७५ पैसा सहयोग संकलन भएको थियो। उक्त रकम केशव शर्मा पौडेललाई पठाइसकिएको जानकारी असल छिमेकीकी उपाध्यक्ष दुर्गा क्षेत्रीले दिएकी छन्।
सहयोग गर्नेहरूमा गंगा क्षेत्री (थापाठाना, गौराथोक), बिनोद पुरी (कुश्मा, शिवालय चोक), सुशील क्षेत्री (थापाठाना, गौराथोक), शिव शर्मा (प्रमिस), पकुवा, धन क्षेत्री (प्रकाश), थापाठाना, गौराथोक, दुर्गा क्षेत्री (बानिया), पोखरा, सपना मल्ल क्षेत्री, थापाठाना तथा यज्ञ क्षेत्री र शर्मिला क्षेत्री, गौराथोक रहेका छन्।
पौडेलको परिवारमा श्रीमती, वृद्ध बुवा र दुई नाबालिका छोरी रहेका छन्। परिवारको मुख्य सहारा नै दुर्घटनामा परेपछि उनीहरूको दैनिक जीवनयापन र छोरीहरूको भविष्यसमेत चुनौतीपूर्ण बनेको छ।
विदेशमा रहेर पनि आफ्नो गाउँठाउँका दुःख, पीडा र विपत्तिमा परेका व्यक्तिहरूलाई सम्झँदै सहयोग गर्नु प्रशंसनीय मानवीय कार्य हो। बेलायतमा रहेका नेपालीहरूको यो सहयोगले पौडेलको परिवारलाई कठिन परिस्थितिमा केही राहत पुग्ने अपेक्षा गरिएको छ।
सामाजिक सेवामा सक्रिय व्यक्तिहरूको पहल र विदेशमा रहेका नेपालीहरूको सहकार्यले विपत्तिमा परेका परिवारलाई ठूलो हौसला प्रदान गर्दछ।






