इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार दुई समुदायबीच भएको हिंसात्मक झडपको पृष्ठभूमि केही दिनअघि बजार क्षेत्रमा रहेको सोलार बत्तीको पोलमा “जय श्रीराम” लेखिएको झण्डा राखिएको घटनासँग जोडिएको देखिएको छ। स्थानीय स्रोतका अनुसार उक्त झण्डा राखिएपछि दुवै समुदायबीच विवाद बढ्दै गएको थियो र त्यसपछि भएका केही गतिविधिले तनावलाई थप चर्काएको बताइएको छ।
स्थानीयका अनुसार झण्डा राखिएपछि केही हिन्दु युवाले डिजेसहित मुस्लिम बस्ती नजिक पुगेर “जय श्रीराम” सम्बन्धी गीत बजाउँदै धार्मिक नाराबाजी गर्ने तथा उक्साउने शैलीका गतिविधि गरेका थिए। यस्ता गतिविधिका कारण स्थानीय मुस्लिम समुदायमा असन्तुष्टि बढ्दै गएको र केही दिनदेखि दुवै पक्षबीच तनावपूर्ण अवस्था कायम रहेको बताइन्छ।

आइतबार बजार क्षेत्रमा पुनः विवाद चर्किएपछि केही व्यक्तिहरू मुस्लिम बस्तीमा प्रवेश गरी कुटपिटको प्रयास गरेको स्थानीयको भनाइ छ। त्यसपछि स्थिति नियन्त्रणमा लिन प्रहरी घटनास्थल पुगेको थियो। प्रहरीले दुवै पक्षलाई संयम अपनाउन र झडप रोक्न पटक–पटक आग्रह गरे पनि अवस्था सामान्य हुन सकेन। उल्टै प्रदर्शनमा उत्रिएका केही व्यक्तिले प्रहरीमाथि ढुंगामुढा तथा कुटपिटको प्रयास गरेको, जसबाट केही प्रहरीसमेत घाइते भएका थिए।
प्रहरीले सुरुमा लाठीचार्ज, अश्रुग्यास र हवाई फायर गरी भीडलाई तितरबितर पार्ने प्रयास गरेको थियो। तर प्रदर्शनकारी झन् आक्रामक बन्दै प्रहरीमाथि नै जाइलागेपछि प्रहरीको सुरक्षामाथि प्रत्यक्ष खतरा उत्पन्न भएको सुरक्षा स्रोतले जनाएको छ। त्यसपछि आत्मरक्षा तथा थप मानवीय क्षति हुन नदिन प्रहरीले आवश्यक बल प्रयोग गर्दै गोली चलाएको र त्यसपछि मात्रै भीड नियन्त्रणमा आएको जनाइएको छ।

स्थानीय प्रशासनका अनुसार प्रहरीको प्राथमिक उद्देश्य दुई समुदायबीच प्रत्यक्ष झडप हुन नदिनु र ठूलो साम्प्रदायिक हिंसा फैलिनबाट रोक्नु थियो। यदि समयमै हस्तक्षेप नभएको भए घटना अझ गम्भीर बन्न सक्ने अवस्था रहेको बताइएको छ। घटनापछि क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने वास्तविक घटनाक्रम, उक्साहट तथा हिंसामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ। यता गृह मन्त्रालयमा यहि बिषयमा साे घटनाबारे सत्य तथ्यहितकाे प्रतिवेद र कानुनी कार्वाहीका लागि उच्चस्तरीय छानवी समिति गठन गर्ने तयारि भएकाे जनाइएकाे छ।
देवानगञ्ज घटनाबारे गृहमन्त्रीसँग गम्भीर छलफल, उच्चस्तरीय छानबिन र विशेष निर्णयको तयारी


















