काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ तीनथानास्थित सडकखण्डमा सोमबार बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। स्कुटर र मिनी ट्रक आपसमा ठोक्किँदा स्कुटरमा सवार दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा चन्द्रागिरि नगरपालिका–१२ हरियाली निवासी ४० वर्षीय दीपक नेपाल र चन्द्रागिरि नगरपालिका–१४ निवासी ५६ वर्षीया शुभद्रा कुमारी नेपाल रहेका छन्। दुर्घटनापछि गम्भीर घाइते भएका दुवैजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सोमबार बिहान २ बजेर ५८ मिनेटमा सतुंगलबाट कलंकीतर्फ आउँदै गरेको बा.प्र.०२–०३८ प ९८९७ नम्बरको स्कुटर र सोही दिशातर्फ गुडिरहेको लु १ क ४२५६ नम्बरको मिनी ट्रक आपसमा ठोक्किएका थिए। ठक्करपछि स्कुटरमा सवार दुवैजना गम्भीर घाइते भएका थिए।
दुर्घटनापछि प्रहरीले घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको र सम्बन्धित सवारीसाधनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।



















