झापा । जङ्गली हात्तीको बढ्दो आतङ्कबाट सर्वसाधारणको जीउधनको सुरक्षा गर्न सरकारले झापामा ‘स्पेसल टास्क फोर्स’ परिचालन गर्ने तयारी थालेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि फोर्स गठन र परिचालनको प्रक्रिया अघि बढाइएको हो।
झापा निर्वाचन क्षेत्र नम्बर १ की प्रतिनिधिसभा सदस्य निशा डाँगीका अनुसार प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकायलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेको छ। अब प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा आवश्यक समन्वय गरी फोर्स परिचालन गरिनेछ।

गत साता मेचीनगर नगरपालिका–४ मा ६२ वर्षीया पद्मा पौडेलको आफ्नै घरआँगनमा हात्तीको आक्रमणबाट मृत्यु भएपछि स्थानीयवासीले सरकारसँग प्रभावकारी सुरक्षा उपाय अपनाउन माग गर्दै आएका छन्। सो घटनापछि सांसद डाँगी र राष्ट्रियसभा सदस्य रोशनी मेचेले संसद्मै जङ्गली हात्ती नियन्त्रण र नागरिक सुरक्षाका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।
प्रस्तावित ‘स्पेसल टास्क फोर्स’मा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र सशस्त्र वन रक्षकलाई समावेश गरिने योजना छ। फोर्सलाई विशेषगरी मेचीनगरको बाहुनडाँगी क्षेत्र केन्द्रित गरेर परिचालन गरिने जनाइएको छ, जहाँबाट भारतको आसाम र पश्चिम बङ्गाल क्षेत्रबाट जङ्गली हात्तीका बथान नेपाल प्रवेश गर्ने गरेका छन्।
सांसद डाँगीका अनुसार फोर्समा कति सुरक्षाकर्मी रहने भन्ने टुङ्गो लागिसकेको छैन। प्रारम्भिक रूपमा ५० जना सुरक्षाकर्मीको माग गरिएको भए पनि अनुभवी र तालिमप्राप्त जनशक्ति उपलब्धताको आधारमा कम्तीमा १० जनाको टोलीबाट सुरुवात गर्न सकिने सुझाव आएको छ।
वन्यजन्तु आरक्ष क्षेत्रबाहिर हात्ती नियन्त्रणका लागि सुरक्षाकर्मी परिचालन गर्ने प्रक्रिया जटिल भए पनि संघीय र प्रदेश सरकारबीचको समन्वयबाट कार्ययोजना अघि बढाइएको जनाइएको छ।
मेचीनगरका स्थानीयवासीले सरकारको यो पहललाई सकारात्मक रूपमा लिएका छन्। मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले नागरिकको सुरक्षा सुनिश्चित गर्न तालिमप्राप्त सुरक्षाकर्मी परिचालन गर्नुपर्ने बताए। त्यस्तै, तत्कालीन बाहुनडाँगी गाविसका अध्यक्ष नीलकण्ठ तिवारीले भारतीय सीमाबाट हात्ती प्रवेश रोक्ने दीर्घकालीन रणनीतिसहित सरकार अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।
झापाको सीमावर्ती क्षेत्रमा वर्षौंदेखि जङ्गली हात्तीको समस्या रहँदै आएको छ। हात्तीको आक्रमणबाट मानवीय क्षति तथा कृषि बालीमा हुने नोक्सानी नियन्त्रण गर्न प्रभावकारी संयन्त्रको माग स्थानीयस्तरबाट निरन्तर उठ्दै आएको छ।










