काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज शुक्रबार बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्ने भएको छ। बैठकमा सरकारका तर्फबाट विभिन्न विधेयक तथा अन्तर्राष्ट्रिय महासन्धीहरू पेश गर्ने कार्यसूची तय गरिएको छ।
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्ताव गरेको बजेटसँग सम्बन्धित यो विधेयक संसद्बाट पारित भएपछि विभिन्न मन्त्रालय तथा निकायका लागि विनियोजित बजेट खर्च गर्ने कानुनी आधार तयार हुनेछ।

यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेलले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभामा पेश गर्ने कार्यसूची रहेको छ। नेपालको मौलिक कला, संस्कृति, परम्परा, भाषा, लोकसंस्कृति तथा अन्य अभौतिक सम्पदाको संरक्षण, संवर्द्धन र व्यवस्थापनलाई कानुनी आधार प्रदान गर्ने उद्देश्यले उक्त विधेयक ल्याइएको बताइएको छ।
त्यसैगरी, युवा, श्रम तथा रोजगार मन्त्रालयको समेत कार्यभार सम्हालिरहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी कार्कीले श्रम क्षेत्रसँग सम्बन्धित दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय दस्तावेज संसद्मा पेश गर्नेछिन्। उनले ‘अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नं. ८१)’ तथा ‘अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९’ पेश गर्ने कार्यसूची रहेको छ।
यी महासन्धिहरू अनुमोदन भएमा नेपालमा श्रम निरीक्षण प्रणालीलाई थप प्रभावकारी बनाउन तथा जबर्जस्ती श्रमको अन्त्यका लागि अन्तर्राष्ट्रिय मान्यताअनुसार कानुनी तथा नीतिगत सुधार गर्न मार्ग प्रशस्त हुने अपेक्षा गरिएको छ।
आजको बैठकमा सरकारले प्रस्तुत गर्ने विधेयक तथा प्रस्तावहरूबारे प्रारम्भिक छलफल हुने सम्भावना रहेको छ। पछिल्ला केही समयदेखि विभिन्न राजनीतिक विषयमा केन्द्रित संसद् बैठकमा आज भने बजेट, सांस्कृतिक सम्पदा संरक्षण र श्रम अधिकारसँग सम्बन्धित विषयले प्राथमिकता पाउने देखिएको छ।










