काठमाडौँ । नेपाल बैंक लिमिटेडले आफ्नो आधिकारिक वेबसाइटलाई अपाङ्गतामैत्री बनाएको घोषणा गरेको छ। समावेशी तथा पहुँचयोग्य बैंकिङ सेवालाई प्राथमिकतामा राख्दै बैंकले वेबसाइटमा विशेष सुविधा थपेको जनाएको छ।
बैंकले जारी गरेको विज्ञप्तिअनुसार दृष्टिविहीन तथा अन्य प्रकारका अपाङ्गता भएका व्यक्तिले सहज रूपमा डिजिटल बैंकिङ सेवा प्रयोग गर्न सकून् भन्ने उद्देश्यले वेबसाइटलाई पहुँचमैत्री बनाइएको हो। वेबसाइटमा स्क्रिन रिडर (स्क्रिनमार्फत सामग्री सुन्न सकिने प्रणाली) अनुकूल संरचना, अक्षरको आकार परिवर्तन गर्ने सुविधा, उच्च कन्ट्रास्ट तथा न्यून दृष्टि भएका प्रयोगकर्ताका लागि आवश्यक अन्य पहुँचसम्बन्धी सुविधा समावेश गरिएको बैंकले जनाएको छ।

नेपाल बैंकले सबै वर्गका सेवाग्राहीलाई समान रूपमा बैंकिङ सेवामा पहुँच सुनिश्चित गर्ने लक्ष्यका साथ यो व्यवस्था लागू गरिएको उल्लेख गरेको छ। बैंकले समावेशी बैंकिङ सेवाप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्याउँदै सबै नागरिकलाई सहज, सुरक्षित र पहुँचयोग्य वित्तीय सेवा उपलब्ध गराउने दायित्वलाई थप सुदृढ बनाउँदै लैजाने जनाएको छ।
हाल नेपालभर २३१ शाखा, २४६ एटीएम र ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई सेवा दिँदै आएको बैंकले आधुनिक बैंकिङ प्रविधि प्रयोग गर्दै ग्राहक सेवामा निरन्तर सुधार गरिरहेको दाबी गरेको छ।
बैंकका अनुसार छिटो, गुणस्तरीय र प्रविधिमैत्री सेवा विस्तारसँगै ग्राहकको आकर्षण समेत बढ्दै गएको छ। बैंकले आगामी दिनमा पनि डिजिटल बैंकिङलाई थप समावेशी र प्रभावकारी बनाउने रणनीति अघि बढाउने जनाएको छ।










