काठमाडौं । खोटाङबाट श्रम संस्कृति पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधि सभा सदस्य आरेन राईले संविधान संशोधनजस्तो गम्भीर र दीर्घकालीन प्रभाव पार्ने विषयमा व्यापक छलफल र सहभागिताको आवश्यकता औंल्याएका छन्। उनले यस्तो संवेदनशील प्रक्रियामा सीमित राजनीतिक वृत्तको मात्र भूमिका पर्याप्त नहुने स्पष्ट पारे।
राईका अनुसार संविधान संशोधन केवल संसदभित्र रहेका दलहरूको मात्र जिम्मेवारी होइन, यो सम्पूर्ण राष्ट्रको साझा विषय हो। त्यसैले देशका विभिन्न भूगोल, समुदाय, वर्ग र लिङ्गको प्रतिनिधित्व गर्ने बौद्धिक समूहहरूले समेत सक्रिय रूपमा भाग लिनुपर्ने उनको धारणा छ।

उनले भने, “संशोधन प्रक्रिया प्रभावकारी र न्यायपूर्ण बनाउन सबै तह र तप्काको आवाज समेटिनु अनिवार्य छ।” उनका अनुसार विविध दृष्टिकोण र अनुभवको समावेशले मात्र संविधानलाई अझ सुदृढ र समयानुकूल बनाउन सहयोग पुर्याउँछ।
राईले विशेष गरी पिछडिएका र सीमान्तकृत समुदायहरूको सुझावलाई प्राथमिकताका साथ समेटिनुपर्नेमा जोड दिए। यसले संविधानलाई सबैका लागि स्वीकार्य र जनमुखी बनाउने विश्वास उनले व्यक्त गरे।
उनले अन्त्यमा सबै सरोकारवालालाई खुला संवाद र सहकार्यमा जोडिन आग्रह गर्दै संविधान संशोधन प्रक्रियालाई समावेशी, सन्तुलित र पारदर्शी बनाउन सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताए।










