धरान । धरानमा उत्पादन भएकाे ‘माया धराने बेसार उद्योग’ को अहिले देशभर चर्चा भएको छ भने उक्त काम उत्साहको विषय बनेको छ ।
धरान उपमहानगरपालिकाको नेतृत्वमा स्थापना गरिएको ‘माया धराने बेसार उद्योग’ले आत्मनिर्भरता, सामूहिक स्वामित्व र स्वदेशी उत्पादनको न्यानो सन्देश मात्र दिएको छैन, बरु अविश्वास, निराशा र विकल्पहीनताका माझ एउटा विश्वासको बीउ रोपेको छ ।
यो उद्योग करिब १५ लाख रुपैयाँको प्रारम्भिक लागतमा स्थापना गरिएको हो, जसमा स्थानीय स्रोत र श्रमको समन्वय गरिएको छ । उक्त लगानीबाट आवश्यक मेसिनहरू (सुकाउने मेसिन, ग्राइण्डर, प्याकेजिङ यन्त्र), कच्चा पदार्थ खरिद र प्रारम्भिक बजार व्यवस्थापनको खर्च धानिएको हो ।

उद्योगबाट आउने नाफा नगरप्रमुख हर्कराज राईले न्यायोचित रूपले बाँडिने बताए । उनले भने, “उद्योगबाट आएको नाफाले स्थानीय सरकारका विकास योजनामा, उद्योगको दिगोपनाको व्यवस्थापनमा, कच्चा पदार्थ उत्पादन गर्ने स्थानीय कृषकहरूको प्रोत्साहनमा र सामाजिक काममा क्रियाशील संघसंस्थाहरूको सहयोगमा खर्च गरिनेछ ।”
यसले देखाएको छ—व्यवसाय भनेको केवल मुनाफा होइन, समुदायसँगको सम्बन्ध, दायित्व र दिगोपनाको योजनाबद्ध अभ्यास पनि हो । उद्योगको उद्घाटनकै दिन १५ सय किलो कच्चा बेसार ३०० रुपैयाँ प्रतिकिलो दरमा स्थानीय किसानबाट खरिद गरियो । त्यसबाट उत्पादन भएको बेसारको बिक्री २ लाख ६० हजार रुपैयाँ बराबरको भयो । यो उत्पादन बजारमा हाल प्रतिकिलो ८०० रुपैयाँमा उपलब्ध छ । मूल्यको विषयमा केही आलोचना उठे पनि उपभोक्ताले पाइरहेको शुद्धता, मौलिकता र स्वास्थ्य लाभको कारण ‘माया धराने’ ब्रान्डले भरोसा जित्न थालेको देखिन्छ ।
अझ विशेष कुरा के छ भने— यो उत्पादन स्वदेशमै सीमित छैन । प्रारम्भिक चरणमै हङकङसम्म निर्यात भइसकेको छ, जसले नेपाली स्थानीय उत्पादनको अन्तर्राष्ट्रिय क्षमताको झल्को दिएको छ ।
बेसार आफैमा हजारौं वर्ष पुरानो आयुर्वेदिक औषधि हो । ‘माया धराने’ले यसको २२ फाइदा प्रचार गर्दै उपभोक्तालाई मात्र होइन, सम्पूर्ण समाजलाई स्वास्थ्यप्रतिको चेतना पनि बाँडिरहेको छ । क्यान्सर प्रतिरोध देखि चोटपटक, ग्यास्ट्रिक, उच्च रक्तचाप, मधुमेह, स्मरणशक्ति सुधार, अनिद्रा, र सौन्दर्यसम्म—बेसारको प्रभावकारी प्रयोगको जानकारीले यसको बजार मागलाई प्राकृतिक रूपमा बढाइरहेको छ ।
धरानको यो प्रयास केवल स्थानीय अर्थतन्त्र सुदृढ गर्ने कार्यक्रम होइन, यो राष्ट्रव्यापी मानसिकताको रूपान्तरण हो । जहाँ नेतृत्व, समुदाय र श्रम तीनवटा पाटो एउटै दिशामा लागे भने ठूला उपलब्धि सम्भव हुने विश्वास जन्मिएको छ ।
अहिलेसम्म सरकारी नीति, लगानी सुनिश्चितता, प्रोत्साहनको अभाव जस्ता कारणले उत्पादनक्षमता हुँदाहुँदै पनि नेपाल आत्मनिर्भर हुन सकेन । तर ‘माया धराने’जस्ता पहलले देखाएको छ—आफ्नै भूमिमा उब्जिएको कृषि उपजलाई स्वदेशमै प्रशोधन, प्याकेजिङ र वितरण गरेरै पनि मुलुकलाई आत्मनिर्भर बनाउने यात्रा थाल्न सकिन्छ ।
धरानका नगरप्रमुख हर्कराज राई भन्छन्, “यो केवल बेसार उत्पादन गर्ने उद्योग होइन, यो हाम्रो पहिचान निर्माण गर्ने आन्दोलन हो । यो हाम्रो माया, हाम्रो सपना र हामी सबैको उद्योग हो ।”
‘माया धराने बेसार’ले एक स्थानीय प्रयास कसरी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रेरणाको विषय बन्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ । यो उद्योग धरानवासीको मात्र होइन, देशभरिका युवाहरू, कृषकहरू, व्यवसायी र नीतिनिर्माताका लागि पनि गम्भीर सन्देश हो—सुरुआत गर्न सक्ने आँट भए परिवर्तन सम्भव छ ।
नेपाललाई आत्मनिर्भर बनाउन अनेकै योजनाहरू बने, तर कमैले उदाहरणीय रूप लिए । धरानको ‘माया धराने’ यथार्थमा आधारित, समाजसँग जोडिएको र दीर्घकालीन सोचमा अडिएको यस्तो पहल हो, जसले अबका दिनमा देशभर ‘स्थान–आधारित उत्पादन र साझा स्वामित्व’ को नयाँ युग सुरु गराउने सम्भावना बोकेको छ ।










