काठमाडौं । शिक्षामन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेलले तत्काल पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकल्प नखोजिने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भने, “माओवादीमा विकल्प नै छैन भन्ने कुरा साँचो होइन ।
हिजो जनयुद्ध नै युवा पुस्ताले गरेको हो । तर अहिले पार्टीभित्र र बाहिर प्रचण्डको भूमिका छ । त्यसैले प्रचण्डको विकल्प खोज्नुहुन्न ।यो प्रचण्डको देवत्वकरण होइन, वास्तविकता हो । उहाँलाई हामीले भगवान् बनाउन खोजेका छैनौं । तर प्रचण्डबिनाको माओवादी पार्टी सोचेका पनि छैनौं ।”

राजतन्त्र अन्त्यदेखि समाजवादी आन्दोलनको वैचारिक नेतृत्व प्रचण्डले मात्र गर्न सक्ने उनले दाबी गरे । पौडेलले थपे, “माओवादी र गैर माओवादी पृष्ठभूमिका साथीहरुका साथै समाजवादी क्रान्तिका लागि प्रचण्डको नेतृत्व सर्वस्वीकार्य छ । त्यसैले प्रचण्डलाई अभिभावक बनाएर राख्न यो महाधिवेशनमा सम्भव छैन । हामीले पार्टीभित्र नेतृत्व विकासका लागि तेस्रो पुस्ताका युवालाई अघि सारेका छौं । केन्द्रीय सदस्यले प्रदेशको नेतृत्व गरेका छन् ।”
प्रचण्डको स्तरको नेता माओवादीभित्र छ भन्ने पत्रकार धमलाको प्रश्नमा पौडेलले भने, “तपाईंले बाबुराम, बादल र किरणजी आदि नेताहरु पार्टीभित्र नभएर प्रश्न गर्नुभएको होला । प्रचण्डको स्तरका कोही नेता आइहाल्छ भनेर मलाई नसोध्नोस् । भरखरै तपाईंले अनुहार नखोज्नु होला । भोलि परिआएमा आन्दोलनको मोर्चा सम्हाल्ने साथीहरु पार्टीभित्र छन् ।”
शान्तिप्रक्रियामा आएपछिका १५ वर्षपछि सबैभन्दा खँदिलो र प्रस्ट राजनीतिक दस्तावेज आएको पनि उनले बताए । उनले भने, “अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्तावले विगतको उपलब्धिको रक्षा गर्दै विगतका कमीकमजोरी सच्चाउँदै अघि बढ्ने उत्साह दिएको छ । हाम्रा विचारहरु विशृंखलित, ढिला र खुुकुलो भएको, भ्रष्टाचार, कमिसन, यौन अराजकता बढेको आदि इमानदारीपूर्वक आत्मालोचना भएको छ । आफैँमाथि आलोचना र प्रहार गरिएको यो प्रतिवेदन वस्तुगत छ ।”
नेता पौडेलले माओवादी सिद्धियो भन्ने आरोप विलकुल साँचो नभएको पनि बताए । उनले भने, “माओवादी केन्द्र परिवर्तनका लागि सबैभन्दा धेरै त्याग तपस्या र बलिदान गरेको पार्टी हो । विगतमा भएका गल्ती र कमजोरी सच्चाउने कुरा आफ्नो ठाउँमा छ, तर नेपाली जनतालाई राजनीतिक अधिकार सुनिश्चित गरेको हामीले नै हो । अब हामी सरकार, सदन र सडकको मोर्चा प्रयोग गरेर जनता, श्रम र उत्पादनसँग जोडिन्छौं । माओवादीको पुनर्जीवन सम्भव छ ।”










