भक्तपुर । नेपालभाषा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित भक्तपुरको यातामा आयोजित ४६औँ नेपालभाषा साहित्य तःमुंज्या शनिबार साँझ सम्पन्न भएको छ। नेपाल संवत् ११४६ को अवसरमा शुक्रबारदेखि सुरु भएको दुईदिने सम्मेलन ‘जनता म्वाःसा भाषा म्वाई’ अर्थात् ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको थियो।
सम्मेलनमा नेपालभाषाको साहित्यिक विकास, मौलिक संस्कृति, कला तथा सम्पदाको संरक्षणका साथै समसामयिक सामाजिक र राजनीतिक विषयमाथि विचारविमर्श गरिएको थियो। विभिन्न साहित्यकार, बुद्धिजीवी, सामाजिक अगुवा तथा सर्जकहरूको सहभागिता रहेको कार्यक्रममा भाषा र साहित्यलाई जनजीवनसँग जोड्दै नयाँ पुस्तामा सिर्जनात्मक चेतना विकास गर्नुपर्ने विषयले प्राथमिकता पाएको थियो।
समापन समारोहलाई सम्बोधन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले राजनीतिमा संलग्न व्यक्तिहरूले समाजका वास्तविक समस्या पहिचान गर्न अध्ययन, अनुसन्धान र व्यावहारिक अनुभवलाई महत्व दिनुपर्ने बताए। राजनीतिक क्षेत्रमा व्यक्तिको क्षमता पार्टी सदस्यताका आधारमा मात्र निर्धारण गर्न नहुने उल्लेख गर्दै उनले ज्ञान, योग्यता र कार्यसम्पादनका आधारमा मूल्याङ्कन गरिनुपर्ने धारणा राखे।
सम्मेलनका अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो। किसान अगुवा मोहनबहादुर कुस्मा, लालाखिं गुरु आशालाल खायमली, समाजसेवी कृष्णदेवी वाङायो र सामाजिक अगुवा टेकबहादुर पलिखेल समापन समारोहमा सम्मानित भए। यसअघि सम्मेलनको पहिलो दिन कवि दामोदर सुवाल, दयालक्ष्मी जोशी तथा ‘मुकुण्डो’ पुस्तकका लेखक वीणा जोशीलाई सम्मान गरिएको थियो।
दुई दिनसम्म चलेको सम्मेलनमा नेपालभाषाका कविता, कथा तथा निबन्ध वाचनसँगै प्रतियोगितात्मक साहित्यिक प्रस्तुतिहरू आयोजना गरिएका थिए। साहित्यिक गतिविधिसँगै नाटक, गीत, नृत्य तथा विविध सांस्कृतिक कार्यक्रमले सम्मेलनलाई बहुआयामिक बनाएको थियो। सोही अवसरमा सम्मेलनसँग सम्बन्धित ‘तःमुंज्या’ स्मारिका पनि विमोचन गरिएको आयोजकले जनाएको छ।
विसं २०३७ अर्थात् नेपाल संवत् ११०० देखि निरन्तर आयोजना हुँदै आएको नेपालभाषा साहित्य तःमुंज्याले मातृभाषाको संरक्षण, साहित्यिक सिर्जनाको विकास र स्थानीय कला तथा संस्कृतिको प्रवर्द्धनमा योगदान दिँदै आएको छ। सम्मेलनले परम्परागत भाषा र सांस्कृतिक पहिचानलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने तथा साहित्यिक प्रतिभालाई सार्वजनिक मञ्च प्रदान गर्ने उद्देश्यलाई निरन्तरता दिएको छ।






