झापा । चाडपर्वका बेला पेट्रोलियम पदार्थ तथा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति तथा वितरण प्रणालीको नियमित अनुगमन र व्यवस्थापनलाई प्राथमिकता दिएको छ। चाडपर्वमा उपभोग्य वस्तुको माग बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रशासनले बजारमा इन्धनको सहज उपलब्धता सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशनात्मक आग्रह गरेको हो।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले चाडपर्वका समयमा उपभोक्ताको माग बढ्ने भएकाले पेट्रोलियम पदार्थको आपूर्ति नियमित र व्यवस्थित बनाउन आवश्यक रहेको बताए। जिल्लामा ग्यासलगायत पेट्रोलियम पदार्थको उपलब्धताबारे समीक्षा गर्दै उनले उपभोक्ताले सहज रूपमा इन्धन प्राप्त गर्ने वातावरण बनाउन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र निगरानी आवश्यक रहेकोमा जोड दिए।
नेपाल आयल निगमको चारआली कार्यालयका प्रमुख उमेशकुमार पोखरेलका अनुसार झापा जिल्लामा हाल पेट्रोलियम पदार्थको अभाव छैन। यस्तै, पराजुली ग्यास उद्योगका सञ्चालक जितबहादुर कार्कीले जिल्लामा दैनिक करिब ५ हजार ५०० सिलिन्डर एलपी ग्यासको माग हुने गरेकोमा उद्योगबाट दैनिक ७ हजार ६०० सिलिन्डर उत्पादन भइरहेको जानकारी दिए। उनका अनुसार पछिल्लो दुई महिनामा नियमित खपतको तुलनामा करिब ४० प्रतिशत बढी ग्यास बजारमा खपत भएको छ।
चाडपर्वका समयमा इन्धनको आपूर्ति र वितरणलाई प्रभावकारी बनाउने विषयमा जिल्ला प्रशासन कार्यालय झापामा मंगलबार सरोकारवालाबीच छलफल भएको थियो। छलफलमा सुरक्षा निकायका प्रतिनिधि, नेपाल आयल निगम, पेट्रोलियम डिलर्स एसोसिएसन तथा ग्यास विक्रेता सङ्घका प्रतिनिधिहरू सहभागी थिए।
प्रशासनले बजारमा इन्धनको कृत्रिम अभाव सिर्जना हुन नदिन आपूर्ति प्रणालीमाथिको निगरानीलाई निरन्तरता दिने जनाएको छ। चाडपर्वको समयमा उपभोक्तालाई आवश्यक परिमाणमा ग्यास तथा पेट्रोलियम पदार्थ उपलब्ध गराउन र वितरणमा देखिन सक्ने समस्या समयमै समाधान गर्न सम्बन्धित निकायबीच समन्वयलाई थप प्रभावकारी बनाउनेमा छलफलले जोड दिएको छ।






