काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले १२ वटा समस्याग्रस्त सहकारीका २३५ जना बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अनुसार पहिलो चरणमा सानो रकम बचत गरेका बचतकर्तालाई प्राथमिकता दिँदै बचत फिर्ता गरिएको हो।
सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त भएको रकम सम्बन्धित सहकारीका पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। सहकारीमा बचत गरेको रकम लामो समयदेखि फिर्ता नपाएका बचतकर्तालाई राहत दिने उद्देश्यले रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको हो।
समितिका अनुसार पहिलो चरणमा थोरै बचत भएका बचतकर्तालाई रकम फिर्ता गरिएको छ। आगामी दिनमा पनि बचतकर्ताले बचत गरेको रकमका आधारमा वर्गीकरण गरी क्रमशः रकम फिर्ता गरिनेछ। समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त रकमबाट बचतकर्ताको रकम फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्थाबमोजिम निरन्तर सञ्चालन भइरहेको समितिले जनाएको छ।
समितिबाट रकम फिर्ता पाउने बचतकर्तामध्ये सबैभन्दा धेरै कान्तिपुर सहकारीका ८० जना छन्। त्यसपछि शिव शिखर सहकारीका ६२ जना, ओरेन्टल सहकारीका ३७ जना, लालीगुराँस सहकारीका १३ जना, नेपाल वित्तीय सहकारीका १२ जना र गोरखा सहकारीका ११ जना बचतकर्ताले रकम फिर्ता पाएका छन्।
त्यसैगरी तपाईं हाम्रो सहकारीका १० जना, आइडियल यमुना सहकारीका ६ जना, कृषि विकास सहकारीका चार जना, पशुपति सहकारीका चार जना, स्ट्यान्डर्ड सेभिङ सहकारीका चार जना तथा गौतम श्री सहकारीका एक जना बचतकर्ताले रकम फिर्ता पाएका छन्।
समितिले सार्वजनिक गरेको विवरणअनुसार यी १२ सहकारीका कुल २३५ जना बचतकर्ताले रकम फिर्ता पाएका हुन्। ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमलाई बचतकर्ताको रकम फिर्ता गर्ने माध्यम बनाइएको भए पनि सबै पीडितको बचत फिर्ता हुन बाँकी रहेकाले आगामी दिनमा पनि प्रक्रिया निरन्तर अघि बढाउनुपर्ने देखिन्छ।






