काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारसँग सम्बन्धित विषयमा छानबिन प्रक्रिया अघि बढाएको छ। पार्टीले सार्वजनिक गरेको विज्ञप्तिअनुसार सांसद सुनारसँग सम्बन्धित विषयमा पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको छ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री तथा तिनमा उठाइएका विषयप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।
विज्ञप्तिमा महिलाको मर्यादा र सम्मानमा आँच पुग्ने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शङ्कास्पद आर्थिक लेनदेनजस्ता विषय गम्भीर र संवेदनशील रहेको जनाइएको छ। यस्ता आरोपलाई सामान्य रूपमा लिन नसकिने भन्दै पार्टीले आफ्नो धारणा सार्वजनिक गरेको हो।
रास्वपाले घटनाको सत्यतथ्य पत्ता लगाउन केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। छानबिन निष्पक्ष रूपमा सम्पन्न होस् र प्रक्रियामा कुनै प्रभाव नपरोस् भन्ने उद्देश्यले सम्बन्धित सांसदलाई छानबिन अवधिभर सार्वजनिक पदको हैसियतमा हुने कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुनसमेत निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ।
त्यसैगरी, सार्वजनिक भएका विषयको गम्भीरतालाई ध्यानमा राख्दै सम्बन्धित राज्यका निकायबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास पार्टीले व्यक्त गरेको छ। अनुसन्धान प्रक्रियामा पार्टीका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धतासमेत विज्ञप्तिमा जनाइएको छ।
‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने मान्यतामा दृढ रहेको उल्लेख गर्दै रास्वपाले राज्यको अनुसन्धान र पार्टीको आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन तथा पार्टी विधानबमोजिम थप कदम चालिने जनाएको छ। साथै, कानुन उल्लङ्घन वा पार्टी आचरणविपरीत कार्य गर्ने कसैलाई पनि राजनीतिक संरक्षण नदिने पार्टीको धारणा छ।






