काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी विनिमयसम्बन्धी व्यवस्थामा संशोधन गर्दै विभिन्न वस्तु तथा सेवा आयात, विदेशी सेवा भुक्तानी र बैंकिङ कारोबारमा लाग्दै आएको सीमा बढाएको छ। नयाँ व्यवस्थाले विदेशमा उपचार गराउने नेपाली नागरिक, दूरसञ्चार सेवा प्रदायक, नेपाली वायुसेवा कम्पनी तथा विदेशी सेवा खरिद गर्ने व्यवसायलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
संशोधित व्यवस्थाअनुसार विदेशस्थित अस्पतालमा उपचार गराउन, औषधि खरिद गर्न तथा उपचारमा प्रयोग हुने आवश्यक उपकरणका लागि नेपाली नागरिकले अब वार्षिक ३० हजार अमेरिकी डलरसम्म सटही सुविधा पाउनेछन्। यसअघि यस्तो सुविधा वार्षिक १५ हजार डलरसम्म मात्र उपलब्ध थियो। तोकिएका प्रक्रिया पूरा गरी बैंक तथा वित्तीय संस्थाबाटै उक्त सुविधा लिन सकिने व्यवस्था गरिएको छ।
त्यसैगरी, नेपाली दूरसञ्चार सेवा प्रदायक कम्पनीले विदेशी कम्पनीबाट स्याटेलाइट सेवा भाडामा लिँदा गर्नुपर्ने भुक्तानीको सीमा पनि उल्लेख्य रूपमा बढाइएको छ। अब यस्ता कम्पनीले वार्षिक पाँच लाख अमेरिकी डलरसम्मको भुक्तानी बैंक तथा वित्तीय संस्थामार्फत गर्न सक्नेछन्। यसअघि उक्त सीमा एक लाख डलर थियो।
नयाँ व्यवस्थाअनुसार नियामक निकायबाट सम्झौता स्वीकृत वा विदेशी मुद्रा सटहीका लागि सिफारिस प्राप्त गरी आवश्यक कागजात पेस गर्ने संस्थाले प्रतिपटक ३० हजार अमेरिकी डलर वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रासम्म वाणिज्य बैंकबाटै सटही सुविधा लिन सक्नेछन्। यसअघि यस्तो सीमा १५ हजार डलर थियो। प्रतिपटक ३० हजार डलरभन्दा बढी भुक्तानी गर्नुपरेमा सम्बन्धित नियामक निकायको सिफारिससहित राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागबाट स्वीकृति लिनुपर्नेछ।
नियामक निकाय नभएको वा सम्बन्धित सम्झौता तथा सहमति स्वीकृत हुन नसकेको अवस्थामा प्रतिपटक आठ हजार अमेरिकी डलरभन्दा बढी भुक्तानी गर्न पनि विभागको स्वीकृति आवश्यक पर्ने व्यवस्था गरिएको छ। यस्तै, ३० हजार डलरभन्दा बढीको अग्रिम भुक्तानी गर्दा विदेशी बैंकको बैंक ग्यारेन्टी अनिवार्य गरिएको छ। यसअघि १५ हजार डलरभन्दा बढीको अग्रिम भुक्तानीमा यस्तो ग्यारेन्टी आवश्यक पर्ने व्यवस्था थियो।
नेपालमा कानुनी रूपमा दर्ता भई सञ्चालनमा रहेका नेपाली तथा विदेशी कम्पनीले भारतस्थित संस्थाबाट सेवा खरिद गर्दा गर्न सक्ने भुक्तानीको सीमा पनि बढाइएको छ। अब सम्बन्धित नियामक निकायको सिफारिसका आधारमा प्रतिपटक ६० लाख भारतीय रुपैयाँसम्म वाणिज्य बैंकबाटै भुक्तानी गर्न सकिनेछ। यसअघि यस्तो सीमा ४० लाख भारतीय रुपैयाँ थियो। ६० लाख भारुभन्दा बढीको भुक्तानी गर्नुपरेमा वा नियामक निकाय नभएको अवस्थामा राष्ट्र बैंकको सम्बन्धित विभागबाट स्वीकृति लिनुपर्नेछ।
कार्डमार्फत हुने विदेशी मुद्रा कारोबारमा पनि राष्ट्र बैंकले सहजीकरण गरेको छ। अब विदेशमा अनलाइनमार्फत सेवा निर्यात गरी आर्जन गरेको विदेशी मुद्रा कार्डमा जम्मा गर्न सकिनेछ। कार्डमा रहेको मौज्दात १० हजार अमेरिकी डलरभन्दा बढी भएमा सीमाभन्दा माथिको रकम अनिवार्य रूपमा प्रयोगकर्ताको स्वदेशी वा विदेशी मुद्रा खातामा जम्मा गर्नुपर्नेछ। यसअघि यस्तो सीमा पाँच हजार डलर थियो।
हवाई उड्डयन क्षेत्रलाई लक्षित गर्दै राष्ट्र बैंकले नेपाली वायुसेवा कम्पनीका लागि पनि विशेष व्यवस्था गरेको छ। अब नेपाली वायुसेवा कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणको सिफारिसमा विमानका इन्जिन तथा पार्टपुर्जा आयात गर्न पाँच लाख अमेरिकी डलरसम्म अग्रिम भुक्तानी बैंकमार्फत पठाउन सक्नेछन्। यस्तो भुक्तानीका लागि विदेशी बैंकको ग्यारेन्टी आवश्यक नपर्ने व्यवस्था गरिएको छ।
विदेशी विनिमयसम्बन्धी व्यवस्थामा गरिएको संशोधनले अन्तर्राष्ट्रिय कारोबारलाई सहज बनाउनुका साथै उपचार, दूरसञ्चार, हवाई उड्डयन र सेवा आयातमा संलग्न निकायलाई आवश्यक विदेशी मुद्रा प्राप्त गर्न थप सुविधा प्रदान गर्ने देखिएको छ।






