भक्तपुर । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट प्रदर्शन गर्दै पदक हासिल गर्ने खेलाडी, प्रशिक्षक तथा खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई सूर्यविनायक नगरपालिकाले नगदसहित सम्मान गरेको छ। नगर खेलकुद विकास समितिको आयोजनामा बुधबार सम्पन्न कार्यक्रममा विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा प्रशिक्षकलाई सम्मानपत्र, नगद पुरस्कार र मायाको चिनो प्रदान गरिएको हो।
कार्यक्रममा नगरप्रमुख वासुदेव थापाले खेलाडीहरूले राष्ट्रको गौरव बढाउन महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै उनीहरूको मनोबल वृद्धि र खेलकुद विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले खेलकुदका लागि विनियोजित बजेट अपुग भए अन्य शीर्षकबाट रकमान्तर गरेर भए पनि खेलकुद क्षेत्रको विकासमा कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। नगर उपप्रमुख सरिता तिम्सिना भट्टराईले खेलाडी राष्ट्रका गौरव भएको बताउँदै उनीहरूको क्षमता र मनोबल अभिवृद्धि गर्न सके खेलकुदमार्फत नेपालको पहिचान अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न सकिने धारणा राख्नुभयो।
कार्यक्रममा कराँते, भारोत्तोलन, सावाते, भलिबल, तेक्वान्दो, कबड्डी, रग्बी, हक्की र फुटबललगायतका खेल विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिएको थियो। अन्तर्राष्ट्रियस्तरमा पदक हासिल गर्ने वसिल तायना, रुपक कुमार विष्ट, सन्ध्या नगरकोटी, समिक्षा नगरकोटी, सञ्जु नगरकोटी, वैभवी सापकोटा, एकिन कासुला, आरती सिलवाल, प्रभुराम केसी र सन्मा मुलगुठीलगायत सम्मानित भएका छन्। त्यस्तै, राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने रुपक भुजु, निरोज कार्की, विवश बासु, राम ढुङ्गाना र गंगाराम देउजालगायतलाई सम्मान गरिएको थियो। ग्रासरुट फुटबलमा उत्कृष्ट प्रदर्शन गर्ने शिवम केसी र पुजन हिङ्गजु पनि सम्मानित भएका छन्।
यसैगरी, उत्कृष्ट प्रशिक्षकका रूपमा विक्रम लामा तथा लाइफटाइम एचिभमेन्ट अवार्डबाट शेरबहादुर थापा मगर सम्मानित हुनुभएको छ। खेलकुद क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने विद्यालयका रूपमा अरनिको माध्यमिक विद्यालयलाई सम्मान गरिएको आयोजकले जनाएको छ। सम्मानित खेलाडी तथा प्रशिक्षकलाई उपलब्धिको स्तरअनुसार २० हजार, १५ हजार, १० हजार, आठ हजार र पाँच हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मानपत्र र मायाको चिनो प्रदान गरिएको थियो।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, नगर खेलकुद विकास समितिका पदाधिकारी, जनप्रतिनिधि, विभिन्न खेल संघका प्रतिनिधि, प्रशिक्षक तथा खेलाडीहरूको उपस्थिति थियो। खेलाडी र प्रशिक्षकको मेहनत, अनुशासन, संघर्ष तथा उपलब्धिको कदर गर्दै उनीहरूको योगदानलाई नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बनाउने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको नगरपालिकाले जनाएको छ।






