काठमाडौं । नेपाली कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि आज (शुक्रबार) मतदान हुँदैछ। यसअघि बिहीबारका लागि तय गरिएको मतदान तयारी पूरा नभएका कारण स्थगित भएपछि आज बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिएको हो। निर्वाचन समितिले मतदानका लागि आवश्यक व्यवस्था मिलाएको जनाएको छ।
बिहीबार आयोजित मिडिया ब्रिफिङमा निर्वाचन समितिले खराब मौसम, प्राविधिक समस्या तथा ढिलो गरी मतदान सुरु गर्दा रातिको समयमा मतदातालाई असहज हुने अवस्थालाई ध्यानमा राख्दै शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु गर्ने निर्णय गरिएको जानकारी दिएको थियो। सोही निर्णयअनुसार आज मतदान प्रक्रिया अघि बढाउन लागिएको हो।
नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि कुल ७ हजार ३१७ महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। बिहान ७ बजेदेखि मतदान सुरु भए दिउँसो ३ बजेसम्म मतदान सम्पन्न हुने अनुमान गरिएको छ। मतदानमा सहभागी प्रतिनिधिहरूले पार्टीको आगामी नेतृत्व चयनका लागि आफ्नो मताधिकार प्रयोग गर्नेछन्।
निर्वाचन समितिले मतदानका लागि काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह र खुलामञ्चमा मतदान केन्द्र स्थापना गरेको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था मिलाइएको छ। खुलामञ्चस्थित तराई–मधेश हलमा कोशी र मधेश प्रदेशका प्रतिनिधिहरूले, हिमाल हलमा गण्डकी प्रदेशका प्रतिनिधिहरूले तथा पहाड हलमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट निर्वाचित प्रतिनिधिहरूले मतदान गर्नेछन्।
निर्वाचन समितिका अनुसार मतदान सम्पन्न भएपछि सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा लगिनेछ। त्यसपछि मतगणना प्रक्रिया सुरु गरिनेछ। मतदान र मतगणनाको प्रक्रियासँगै कांग्रेसको नयाँ कार्यसमितिमा को–को निर्वाचित हुनेछन् भन्ने विषयलाई पार्टीका नेता, कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिहरूले चासोका साथ हेरिरहेका छन्।






